सतिस राजवंशी

विराटनगर । नेपाली साङ्गीतिक समूह नेपथ्यको कार्यक्रमको अपेक्षाकृत टिकट बिक्री नभएको पाइएको छ ।

मानवसेवा आश्रम र नेपथ्यको संयुक्त आयोजनामा नेपालभर हुने भनिएको ‘मानवताको लागि संगीत’ अभियानअन्तर्गत विराटनगरमा हुने कार्यक्रमको लागि अपेक्षा गरिएको भन्दा कम संख्यामा टिकट बिक्री भएको मानवसेवा आश्रमले बताएको हो ।

कार्यक्रमबारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आश्रमका प्रदेश १ संयाेजक नवराज केसीले टिकट बिक्री सोचे अनुरुप नहुँदा अभियानको योजनामा असर पुग्ने देखिएको बताए ।

अभियानअन्तर्गत मंसिर १६ गते विराटनगरमा आयोजना हुन लागेको साङ्गीतिक कार्यक्रमका लागि आयोजकले ६ हजार टिकट बिक्री गर्ने लक्ष्य राखेकोमा बुधबार (आज)सम्म ४ हजार टिकट बिक्री भएको बताइएको छ ।

सडकमा रहेका असहायहरुका निम्ति काम गर्दै आइरहेको मानव सेवा आश्रमले नेपथ्यसँगको सहकार्यमा आयोजना गरेको मानवताको लागि संगीत अभियानमार्फत संकल्न गरिएको रकम भवन निर्माणमा प्रयोग गरिने उद्देश्य राखिएको छ ।

आश्रमका प्रदेश संयाेजक केसीले टिकट बिक्री कम हुँदा यसले लक्ष्यमा असर पुर्याउने बताए । आमनिर्वाचनले कार्यक्रमको टिकट बिक्रीमा असर गरेको उनले बताए ।

एक हजार प्रवेश शुल्क रहेको कार्यक्रमको दुई हजार टिकट बिक्री नहुँदा आयोजकलाई बिस लाख सहयोग रकम संकलन नहुने देखिएको छ ।

नेपथ्य २

‘अपेक्षाकृत रकम नउठ्ने देखिएको छ तर आज र भोलि समय बाँकी छ’ संयाेजक केसीले भने, ‘सहयोगी मनले मनोरञ्जनका लागि मात्र नभई आश्रमको भवन निर्माणमा आवश्यक पर्ने इँटा र सिमेन्ट खरिदका लागि सहयोग गर्नुहुन्छ भन्ने आशा राखेका छौँ ।’

बिस करोड लागतमा आश्रमले विराटनगरस्थित आफ्नो जग्गामा भवन बनाउने कार्य सुरु गरिसकेकाे भवन निर्माण समितिका अध्यक्ष राजन खत्रीले बताए । त्यसका लागि कार्यक्रममार्फत एक करोड सहयोग संकल्न गर्ने आश्रमले बताएको छ ।

नेपाली लोक रक संगीतका कारण सबैमा मनमा बस्न सफल अमृत गुरुङ्ग नेतृत्वको नेपथ्य आज विराटनगर आइपुग्ने बताइएको छ । मंसिर १६ गते विराटनगरबाट सुरु हुने अभियान पुस १६ गते काठमाडौंको भृकृटीमण्डपमा समापन हुनेछ ।

(प्रशिक्षार्थी)

28
Shares
१४ मंसिर २०७९, बुधबार १४:५०