पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टी थ्रेसहोल्ड पार गर्ने छैटाैं र जनता समाजवादी पार्टी (जसपा) साताैं पार्टी बन्दा एमालेबाट फुटेकाे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीले हालसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । तर, दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ ।
दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएर थ्रेसहोल्ड कटाउन सहयाेग गरे उ राष्ट्रिय पार्टी बन्ने सम्भावना बाँकी नै छ । त्यसबाहेक बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने सम्भवाना जीवित छ ।यदि एकीकृत समाजवादीले बाँकी गणनामा कुल दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना हुन्छ । तर भाेट ट्रान्सफर नभएकाे खण्डमा एकीकृत समाजवादी प्रत्यक्षमा दश सिट जिते पनि राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुनेछ ।