विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको ३ सातापछि वृद्धा महिलाको मृत्यु भएको छ ।

पित्तथैलीको शल्यक्रिया गरिएकी सिरहाको लाहान नगरपालिका–६ की ६० वर्षीया मूर्तिदेवी यादवको मृत्यु भएको हो । उनको मृत्यु मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

पेट दुख्ने समस्या भएपछि उनलाई गत कात्तिक १८ गते उपचारका लागि भर्ना गरिएको थियो । परीक्षण गरेपछि पित्तथैलीमा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने जानकारी चिकित्सकले परिवारका सदस्यलाई गराए ।

मूर्तिदेवीको शल्यक्रिया कात्तिक १९ गते भएको थियो । अस्पतालका सर्जन डा. नरेन्द्र पण्डित नेतृत्वको चिकित्सक टोलीले पित्तथैलीको शल्यक्रिया गरेको हो । अत्यधिक रक्तश्रावका कारण शल्यक्रिया सफल नभएको भन्दै पुनः भोलिपल्ट दोहोर्याएर शल्यक्रिया गरियो ।

पित्तथैलीको शल्यक्रिया २ पटकसम्म गरिएपछि स्वास्थ्य अवस्था जटिल बन्यो । त्यसपछि मूर्तिदेवीलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले जानकारी दिए । ‘शल्यक्रिया गरिएकी महिलामा क्यान्सरको समस्या रहेछ । पित्तथैलीमा मासु पलाएको थियो, पत्थरी पनि रहेछ,’ उनले भने, ‘बचाउन अनेक प्रयास गर्दा पनि सम्भव भएन । उपचारमा कुनै कमजोरी भएको छैन ।’

मृत्युको जानकारी पाएर अस्पतालमा भेला भएका आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएका छन् । क्षतिपूर्ति दिनुपर्ने र लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग राखेर उनीहरुले दिनभर शव बुझ्न अस्वीकार गरे ।

छोरा निर्मल यादवले शल्यक्रियाको सुरुवातदेखि नै लापरबाही गरिँदा आमा गुमाउनु परेको बताए । ‘पहिलोपटक सफल नभएको भनेर दोस्रोपटक शल्यक्रिया गरियो । त्यसपछि आईसीयूमा भर्ना गरेर उपचार थालियो,’ उनले भने, ‘परिवारलाई चैँ उपचार ठीक हुँदैछ भनेर अस्पतालले जानकारी गरायो । चिकित्सकको लापरबाहीले घटना भयो ।’

द्विपक्षीय छलफलमा सहमति जुटेपछि साँझ शव बुझेर परिवारले लगेको अस्पतालले जनाएको छ । उपचारवापत खर्च भएको केही रकम अस्पतालले छुट दिएपछि शव लैजान परिवार राजी भएको हो । निर्मलका अनुसार उपचारवापतको ५ लाख ८४ हजार रूपैयाँ अस्पताललाई तिर्न बाँकी थियो ।

112
Shares
१३ मंसिर २०७९, मंगलवार १८:१०