जाडो मौसम बढेसँगै मानिसमा विभिन्न किसिमका मौसम परिवर्तनका असर पर्छ । स्वास्थ्यमा पर्ने सबै भन्दा बढी समस्या भनेको रुघाखोकी हो । यसले मानिसलाई हैरान बनाउँछ ।
चिसोको कारण लाग्ने रुघा, खोकी र मर्कीले धेरै समस्या निम्त्याउन सक्छ । मौसम परिर्वतनका कारण हुने यी समस्याले मानिसको स्वास्थ्य अवस्थासँगै मनोबल कमजोर हुन्छ । यस्तो बेला प्रतिरक्षा शक्ति वृद्धि गराउन मानिसले एकदमै ध्यान दिनु पर्ने हुन्छ ।बदलिँदो मौसमसँगै अत्यधिक मानिसमा देखा परेका रुघाखोकीको विषयमा हामीले फिजिसिएन रोशन खड्कासँग कुराकानी गरेका छौँः
के हो रुघाखोकी ?मौसममा परिवर्तन हुनसाथ मानिसको रोगविरुद्ध लड्न सक्ने प्रतिरक्षा शक्तिमा फेर बदल हुन्छ । जाडो मौसममा अन्य समयमा भन्दा रोग सार्ने भाइरसहरु बढी सक्रिय भएर बस्ने गर्छन् । कमजोर प्रतिरक्षा शक्ति भएका मानिसमा यस्ता भाइरसले आक्रमण गर्छन् जसका कारण रुघाखोकी लाग्ने गर्छ । सामान्य रुघा, खोकी, नाक बन्द हुने, जिउ दुख्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीरमा थकान हुने नै रुघाखोकी हो भनेर बुझ्दा हुन्छ ।
रुघाखोकीबाट बच्न कस्ता कुराहरु ध्यान दिन आवश्यक हुन्छ ?
सामान्यतया हरेक मान्छेसँग रोगविरुद्ध लड्न सक्ने क्षमता हुन्छ । प्रतिरक्षा शक्ति कमजोर भएका मानिसहरुमा मौसम परिवर्तन हुनसाथ रोगहरु लाग्ने गर्छ । त्यसैले यो अवस्थामा ध्यान दिनु पर्ने मुख्य कुरा खानपिन, शारीरिक व्यायाम र शरीरलाई फिट एण्ड फाइन रुपमा राख्नु हो । यस्तो गरे साधारण रुघाखोकीबाट बच्न सकिन्छ ।
खानपिनमा कस्तो र कसरी ध्यान दिने ?
सामान्य छ नि ! सफा र सुरक्षित आहार जसमा भिटामिन, मिनिरल, काब्रोहाइड्रेट, प्रोटिन, फ्याट पाइन्छ त्यसको प्रयोगमा ध्यान दिने । सन्तुलित खाना खान सकिए मानिसलाई समस्या हुँदैन । मान्छेको स्वास्थ्यमा खानेकुराले प्रत्यक्ष असर पार्छ । त्यसैले खानेकुरा छनोट गर्दा ध्यान दिने । साथै, व्यायाम गर्ने जसले शरीरमा प्रतिरक्षा शक्ति बढाउन सहयोग गर्छ ।
बालबालिकामा रुघाखोकीले कस्तो असर पार्छ ?
मौसम परिवर्तनका कारण बालबालिकामा पनि प्रतिरक्षा शक्ति घट्ने गर्छ । बालबालिकालाई शारीरिक व्यायाम गराउन अलि अप्ठेरो पनि हुने गर्छ त्यसैले अभिभावकले उनीहरुको खानेकुरामा विशेष ध्यान दिनु पर्छ । पोषणयुक्त खानालाई प्राथमिकता दिनुपर्छ । व्यस्क मानिसमा हुने जस्तो प्रतिरक्षा शक्ति बालबालिकामा परिपक्व हुँदैन त्यसैले अलि धेरै ध्यान दिनुपर्छ ।
बालबालिकामा रुघाखाेकीबाट हुन सक्ने असरलाई कसरी नियन्त्रण गर्ने ?
चिसोबाट बचाउने, न्यानो बनाएर राख्ने, खाना खानु र खुवाउनुअघि हात राम्रोसँग धुने । विशेषगरी बालबालिकामा श्वास–प्रश्वासको समस्या देखिने गर्छ जुन हावाबाट सर्ने गर्छ । यसबाट बच्न र असर नियन्त्रण गर्न सबैभन्दा पहिले रोग लाग्नबाट बचाउने, सरसफाई गर्ने, पोषणयुक्त खाने कुरा खुवाउने, सम्भव भएसम्मको व्यायाम गराउने । रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउने ।
वृद्धवृद्धामा रुघाखोकीको कस्तो असर हुन्छ ?
दीर्घरोगी वृद्धवृद्धालाई मौसम परिवर्तनका कारण श्वास फेर्न समस्या हुने गर्छ । पुराना रोग दोहोरिन सक्ने सम्भावना पनि प्रबल हुन्छ । खानपिन, व्यायाममा ध्यान दिन सकिएको खण्डमा असर न्यूनिकरण गर्न सकिन्छ ।
रुघाखोकी लागेको बेला अपनाइने घरेलु उपचार विधि कति प्रभावकारी हुन्छ ?
घरेलु विधिमा हामीले परम्परागत रुपमा खाने जडीबुटीहरुको प्रयोग हुने गर्छ । यसलाई हालसम्म वैज्ञानिक रुपमा उपयुक्त मानिएको छैन तर वर्षौंदेखि चलि आएको परम्परा, विधिलाई गलत हो भन्न सक्ने अवस्था छैन । कतिपय घरेलु औषधीको आफ्नै तथ्य हुन्छ । घरेलु उपचार विधिका फाइदा पनि हामीले देखेका छौँ । केही हदसम्म प्रभावकारी छ त्यसैले घरेलु उपचार विधिलाई प्रयोग नगर्नुस् भनेर भन्न सक्ने अवस्था छैन ।
रुघाखोकी लाग्दा चिकित्सकको सल्लाह बिना नै औषधी प्रयोग गर्ने चलन छ । यो कति हानिकारक हुन्छ ?
सल्लाह बिना कुनै पनि औषधी प्रयोग गर्नु प्रभावकारी हुँदैन । खानेकुरा ज्यादा खाँदा असर भए जस्तै औषधीको बढी प्रयोगले मानिसमा असर गर्छ । चिकित्सको परामर्श बिना प्रयोग गर्दा औषधी विष हुन सक्छन् । लामो समयसम्म नकारत्मक असर पर्न सक्छ । त्यसैले स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै औषधी प्रयोग गर्न उचित हुन्छ ।
(प्रशिक्षार्थी)