काठमाडौं । ४० वर्षदेखि पराजय भोग्दै आएका कपिलवस्तुका पुराना नेता यसपटक निर्वाचित भएका छन् । गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका उनी कपिलवस्तु ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

२०३९ सालदेखि चुनाव हार्दै आएका मंगलप्रसाद गुप्ताले आठौँ प्रयासमा जित हासिल गरेका हुन् ।

कृष्णनगरका ७७ वर्षे गुप्ता एमालेबाट विजयी भएका हुन् । उनले कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गरे । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् । उनले २० हजार ८५२ मत प्राप्त गरेका छन् ।

कांग्रेस, तमलोपा र मधेशी जनाधिकार फोरम हुँदै जित निकाल्नका लागि एक वर्षअघि एमाले प्रवेश गरेर उनी चुनावमा उठेका थिए ।

२०४३ मा सूर्य चुनाव चिन्ह लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका गुप्ता २४ हजार मत ल्याउदै चौथो भएका थिए । त्यसको ३६ वर्षपछि त्यही सूर्य चिन्ह लिएर लडेका उनी अहिले विजयीको माला पहिरिएका छन् ।
42
Shares
१३ मंसिर २०७९, मंगलवार १४:५७