पाेखरा । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले पुनः १० वर्ष सहयोग गर्ने गरी सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच २०८८ सम्मको प्रतियोगिताका लागि करार सम्झौता गरिएको हो । हिमश्री फुड्सले नै प्रायोजन गरेपछि तत्कालीन क्याराभान कपलाई आहा रारा गोल्डकप नामाकरण गरिएको थियाे । यसअघि २० वर्षसम्म आहा राराको नामबाट प्रतियोगिता सम्पन्न भएको छ । हिमश्री फुड्सले पहिलो १० वर्ष र दोश्रो १० वर्षको सम्झौता गरेको थियो ।
नयाँ सम्झौताअनुसार हिमश्रीले वार्षिक रुपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोश्रो ३ वर्ष २१ लाख, तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँका दरले प्रायाेजन गर्नेछ । त्यस्तै प्रतियोगिताको व्यवस्थापकीय कामका लागि अतिरिक्त आन्तरीक खर्च बापत पहिलो प्रत्येक ३ वर्ष एकमुष्ठ ४ लाख ५० हजार, दोश्रो प्रत्येक ३ वर्षमा ५ लाख २५ हजार, तेश्रो प्रत्येक ३ वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख प्रदान गर्ने छ ।
स्व. सूर्यबहादुर केसी र उनका परिवारले सहारा क्लबले नै संचालन गरेको सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग गरेको छ । उक्त एकेडेमीको नाम पनि स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीमा राखिएको छ । उक्त एकेडेमीलाई सन्चालन गर्न केसी परिवारले १० वर्षसम्म वार्षिक रुपमा १५ लाखका दरले सहयोग गर्ने सम्झौता भएको छ । गत २ वर्षको ३० लाख क्लबले प्राप्त गरिसकेको अध्यक्ष हरिराम गुरुङ (सुरज)ले जानकारी दिएका छन् ।