ललितपुर। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा ‘आर्थिक क्रान्ति’का लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए । सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस गर्ने गरी विकासलाई गति दिने बताए ।

‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ’ अध्यक्ष प्रचण्डले भने, ‘ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’

गोरखाली जनसमुदायको सद्भावले गोरखा र केन्द्र दुवै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गर्ने उनले बताएका छन् ।

3
Shares
१३ मंसिर २०७९, मंगलवार १२:५१