काठमाडौं । सिन्जियाङ प्रान्तबाट लकडाउनविरुद्ध सुरु भएको प्रदर्शन चीनका धेरै सहरमा फैलिइसकेको छ । प्रदर्शनमा प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन् । राष्ट्रपति सि चिनफिङको राजीनामा र स्वतन्त्रताको माग पनि हुन थालेको छ । हङकङका विद्यार्थी संगठनले प्रदर्शनलाई समर्थन गरेका छन् ।
कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अझ शक्तिशाली बनेका राष्ट्रपति सीको तेस्रो कार्यकालको सुरुमै भएका यी घटनाक्रमलाई पश्चिमी मुलुकहरुले रुचिका साथ हेरिरहेका छन् ।
अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले चीनमा भएको यो घटना अस्वाभाविक र महत्वपूर्ण भएको बताएका छन् । यो प्रदर्शन केन्द्रीय रुपमा संयोजन गरेको नदेखिएको बरु स्वस्फूर्त रुपमा भइरहेको उनको दाबी छ ।
बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लीले पनि अहिलेको प्रदर्शन चीनको शून्य कोभिड नीतिबाट नागरिकहरु निकै बेखुसी रहेको प्रमाण भएको बताएका छन् ।
विश्लेषकहरुले लकडाउनविरुद्धको प्रदर्शन विस्तार हुँदै जाँदा सरकारले नियन्त्रण गुमाउने जोखिम रहेको बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यो प्रदर्शनलाई चीनमा दबाइएको स्वतन्त्रताको आवाजका रुपमा उल्लेख गर्दै १९८९ मा तियानमेन स्क्वायरको आन्दोलनलाई स्मरण गरेका छन् ।
के भएको थियो त तियानमेन स्क्वायरमा ?
सन् १९८० को दशकमा हु याओवाङ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा शक्तिशाली हैसियतमा थिए । १९८१ देखि १९८२ सम्म उनी सीपीसीका अध्यक्ष भए भने त्यसपछि १९८७ सम्म महासचिव । माओत्से तुङको निधनपछि उनले सांस्कृतिक क्रान्तिका बेला भएका गल्ती सुधार गर्न ल्याइएको ‘बोलुआन फान्झेङ’ कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनका राजनीतिक र आर्थिक सुधारका कार्यक्रमले पार्टीभित्रै धेरै शत्रु कमाइरहेका थिए । उनी नागरिकलाई सरुवा रोगबाट बँच्न पश्चिमी तरिकाबाट खानुपर्छ भन्थे, माओ सुटको बदला पश्चिमी सुट लगाउँथे । मार्क्सवादी विचारधारा नछाडे पनि उनी कम्युनिष्ट विचारधाराले मात्र सम्पूर्ण मानव समस्या समाधान गर्न सक्दैन भन्थे ।
राजनीतिक प्रतिद्वन्द्वीहरु उनले बुर्जुवावादी स्वतन्त्रतालाई बढावा दिएको आरोप लगाइरहेका थिए । त्यसैले उनलाई १९८७ मा महासचिवबाट राजीनामा दिन बाध्य पारियो । तर, उनी पोलिटब्युरो सदस्य भने कायमै थिए । हुपछि महासचिवको जिम्मेवारी लिएका झाओ जियाङले पनि हुको सुधारका कार्यक्रमलाई निरन्तरता दिए ।
१९८९ को अप्रिल ८ का दिन पोलिटब्यूरो बैठकमा शैक्षिक सुधारका विषयमा छलफल भइरहेका बेला हुलाई अचानक हृदयाघात भयो । तत्काल अस्पताल लगियो । १५ अप्रिलका दिन उनको निधन भयो ।
हुको मृत्युमा सरकारले प्रशंसाका शब्दसहित श्रद्धाञ्जली व्यक्त गर्यो । तर, पश्चिमा मिडियाहरुले पार्टीले उनीमाथि गरेको गलत व्यवहार लुकाउन नियतबश यसो गरिएको आशंका गरे । श्रद्धाञ्जली सभामा उनकी पत्नीले पार्टीले कसरी उनका पतिलाई गलत व्यवहार गर्यो भनेर बताइन् ।
जनदबाबपछि सरकारले हुको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्यो । उनलाई श्रद्धाञ्जली दिन मानिसहरुको १६ किलोमिटर लामो लाइन लाग्यो । अन्त्येष्टिलगत्तै विद्यार्थीहरुले बेइजिङमा प्रदर्शन गर्दै हुलाई राजीनामा दिन बाध्य पार्ने पार्टी निर्णय उल्ट्याउन माग गरे र अझ वृहत रुपमा श्रद्धाञ्जली दिन माग गरे । त्यसपछि ग्रेट हल अफ दि पिपुलमा सार्वजनिक रुपमा श्रद्धाञ्जली सभा आयोजना गरियो ।
अप्रिल २२, १९८९ का दिन ५० हजार विद्यार्थीहरु हुको श्रद्धाञ्जली सभामा भाग लिन तियानमेन स्क्वायर पुगे । र, त्यही नै प्रधानमन्त्री लि पेङलाई स्मरणपत्र दिए । पार्टीले विद्यार्थीको मागको ढिलो प्रतिक्रिया दिएको भन्दै असन्तुष्टि बढ्दो थियो । बेइजिङलगायतका सहरमा मानिसहरु नेता हुको शोकमा सडकमै उत्रिन थाले ।
बिस्तारै प्रदर्शनमा लोकतन्त्र, प्रेस तथा वाक स्वतन्त्रताका पक्षमा आवाजहरु उठ्न थाले । भ्रष्टाचारको विरोध, महंगी, आर्थिक नीतिमा सुधार, सामाजिक सुरक्षाका पक्षमा प्रदर्शन भए । तर प्रदर्शन व्यवस्थित थिएन । उद्देश्यहरु फरक थिए ।
विद्यार्थी, श्रमिकहरुले आ–आफ्ना हितका पक्षमा आवाज उठाएका थिए । त्यतिबेला सीपीसीमा दुई समूह थियो–एउटा समूह मुलुकमा परिवर्तन चाहन्थ्यो भने अर्को समूह सरकारको नियन्त्रण कायमै रहोस् भन्ने पक्षमा थियो ।
मे महिनासम्म प्रदर्शन ४ सय सहरमा विस्तार भयो । प्रधानमन्त्री लि पेङसहितका सीपीसीका वरिष्ठ नेताहरु प्रदर्शनलाई दबाउन कडा नीति लिने पक्षमा उभिए । २० मेका दिन सीपीसीको राज्य परिषद्ले सैनिक कानुन घोषणा गर्यो र लगत्तै ३ लाख सेना बेइजिङका सडकमा उतारियो ।
दशौं हजार प्रदर्शनकारीले सेनाका वाहन रोक्ने प्रयास गरे । उनीहरुले सैनिकहरुलाई खाना र पानीसमेत दिँदै आफ्ना पक्षमा उभिन आह्वान गरे । ४ जूनका दिन सरकारी टेलिभिजनले नागरिकहलाई घरभित्रै बस्न चेतावनी दियो । तर, नागरिकहरु सडकमा ओइरिए ।
तियानमेन स्क्वायरमा उतारिएको ट्यांकसहितको कारबाहीमा दशौं हजार प्रदर्शनकारी मारिएको अनुमान छ । तर, यकिन संख्या अझै थाहा छैन । सन् २०१७ मा बेलायती सरकारले सार्वजनिक गरेको एक दस्तावेजमा मृतकको संख्या १० हजार बताइएको छ । यो कारबाहीको कमाण्ड गरेका थिए–जनरल याङ बाइबिङले, जो राष्ट्रपति याङ शांगकुनका नातेदार पनि थिए ।
अहिले सिन्जियाङबाट सुरु भएको यो प्रदर्शनको लहर बढ्दै जाँदा सन् १९८० को दशकमा भएको प्रदर्शनको झल्को मिल्न थालेको विश्लेषण गर्न थालिएको छ । सुरक्षाकर्मीहरुले प्रदर्शनका सहभागीहरुलाई पक्राउ गर्ने र दबाउने प्रयास गरेका छन् । तर, प्रदर्शन रोकिएको छैन ।