काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ का दुई-दुई खेल हुँदैछन् । उपाधि दाबेदारका रुपमा हेरिएको इंग्ल्यान्डले समूहको अन्तिम खेलमा आज वेल्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड नकआउट चरणको नजिक छ ।

अहमद बिन अलि रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ : ४५ बजे सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डले इरानमाथि ६-२ गोलको फराकिलो जित निकालेको थियो । अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएपछि थ्री लायन्सले एक खेल अगावै अन्तिम १६ पुग्ने मौका गुमाएको थियो । तर ग्यारेथ साउथगेटको टोलीले वेल्ससँग ४-० गोलको हार टार्‍योभने समूह चरण पार गर्नेछ । वेल्स भने दबाबमा छ । सन् १९५८ पछि विश्वकप खेलिरहेको वेल्सले नकआटउ चरण पुग्ने हो भने इंग्ल्यान्डमाथि फराकिलो अन्तरको जित निकाल्नु पर्नेछ ।

यसै समूहको अर्को खेलमा इरान र अमेरिका आमनेसामने हुनेछन् । अल थुमाना रंगशालामा हुने यो खेल पनि राति १२ : ४५ बजे नै सुरु हुनेछ । यी दुई बीच यसअघि १९९८ को विश्वकपमा भेट भएको थियो । जसमा इरानले अमेरिकालाई २-१ गोलले पराजित गरेको थियो । तर दुवै टिम समूह चरण पार गर्न असफल भएका थिए ।

अमेरिकालाई अन्तिम १६ मा पुग्न जित्नै पर्नेछ । बराबरी भए इरानलाई बढी फाइदा हुनेछ । तर उसले पनि इंग्ल्यान्ड वेल्सको नतिजा कुर्नु पर्नेछ । चार अंकसहित इंग्ल्यान्ड पहिलो, तीन अंक भएको इरान दोस्रो, दुई अंक बटुलेको अमेरिका तेस्रो र एक अंक मात्र हासिल गरेको वेल्स अन्तिम स्थानमा छ ।

यस्तै विश्वकपमा आज समूह ‘ए’ को अन्तिम खेल हुँदैछन् । यो समूहबाट कुनै पनि टिमले नकआउट चरणमा स्थान बनाएका छैनन् । त्यसैले आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा इक्वेडर र सेनेगल आमनेसामने हुनेछन् । अल बायतमा नेदरल्यान्डस र आयोजक कतारबीच प्रतिस्पर्धा हुनेछ । कतार बाहेक तीनवटै टिमको नकआउटको सम्भावना बाँकी छ । डच प्रशिक्षक लुइ भान हालले नेदरल्यान्डस नकआउट चरण पुग्ने मात्र होइन विश्वकप नै जित्ने विश्वास रहेको प्रतिक्रिया दिए ।

नेदरल्यान्डस १७ खेल यता अपराजित छ । समूहका अघिल्ला दुई खेलमा उसले सेनेगललाई २ – ९ गोलले पराजित गरेको थियो । इक्वेडरसंग भने एक-एक गोलको बराबरीमा रोकियो । अन्तिम १६ मा पुग्नका लागि कतारविरुद्ध मात्र एक अंक जोडे पुग्नेछ । चार अंक जोडेको नेदरल्यान्डस तालिकाको शीर्ष स्थानमा छ । कतार भने अन्तिम खेलमा जित निकाल्दै घरेलु मैदानमा सुखद अन्त्य गर्न चाहन्छ ।

चार अंक सहितको इक्वेडर दोस्रो र तीन अंक हासिल गरेको सेनेगल तेस्रो स्थानमा छ । आज हार नब्यहोरे इक्वेडरले प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ । सेनेगललाई भने जित्नै पर्नेछ । बरारबीले भने सेनेगलको यात्रा समूह चरणमानै समाप्त हुन सक्नेछ । यस्तोमा नेदरल्यान्डसलाई कतारले हराएमा उसको स्मभावना रहनेछ । यी दुवै खेल नेपाली समय अनुसार राति ८ : ४५ बजे सुरु हुनेछन् ।

21
Shares
१३ मंसिर २०७९, मंगलवार ०९:०६