विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेकी छन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५१८८ मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन् ।

चौधरीले ४० हजार ७८८ मत प्राप्त गरिन् भने गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी चौधरी तेस्रो प्रयासमा यसपटक विजयी बनेकी छन् ।

२०४८ यताका सबै निर्वाचन जित्दै आएका कांग्रेस नेता गच्छदारको सातौं पटक प्रतिस्पर्धामा उत्रँदा रोकिएका हुन् ।

२०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा गच्छदार विजयी हुँदै आएका छन् । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए ।

२०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झण्डै दोब्बर मतले पराजित गरेर पहिलो पटक सांसद छिरेका थिए । २०५१ को चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई गच्छदारले पराजित गरेका थिए ।

२०६४ को चुनावमा काँग्रेस छाडेर मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले काँग्रेसका अगमलाल चौधरीलाई झन्डै दोब्बर मतले पराजित गरे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० बाट उम्मेदवार बनेका गच्छदारले एमालेकी भगवती चौधरीलाई ३६२ मतले पछि पारेका थिए ।

आफ्नै नेतृत्वको फोरम (लोकतान्त्रिक) लाई काँग्रेसमा विलय गराएर २०७४ को निर्वाचनमा उनी काँग्रेसबाटै उम्मेदवार बनेका थिए ।

उनले दोस्रो पटक पनि भगवतीलाई पराजित गरेका थिए । त्यसबेला गच्छदारले धाँधली गरेर चुनाव जितेको भन्दै चौधरीले सर्वोच्च अदालतका दर्ता गरेको मुद्दा परेको थियो । उक्त मुद्दाको किनारा नलाग्दै अर्को निर्वाचन भएको हो ।

को हुन् भगवती चौधरी ?

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीको जन्म २०२८ वैशाख २ गते औरवनी ३, सुनसरीमा भएको हो । उनको बुवाको नाम विरनलाल चौधरी र आमाको नाम लिटियादेवी चौधरी हो । उनका एक छोरा छन् ।

चौधरीले मानविकी संकायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन संकायबाट स्नातक गरेकी छिन् । सरस्वती मावि औराबनीबाट एसएलसी गरेकी भगवतीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा आइकम र बीकम पढिन् । उनले स्नातकोत्तर क्याम्पस वि राटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।

२०६७ सालमा वन तथा भूसंरक्षण राज्य मन्त्री बनेकी भगवती २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभासद भएकी थिइन् । तर २०७० सालको चुनावमा भने तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सुनसरी ३ बाट पराजित भएकी थिइन् । तर उनले २०७४ को चुनावमा भने सुनसरी क्षेत्र ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छादारसँग हार बेहोर्नुपरेको थियो ।

चौधरीले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गरिन । २०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गरेकी भगवती थारु विकास समन्वय परिषदको सदस्यदेखि उपाध्यक्षसम्म बनिन्। चौधरीले २०४८/०४९ सालमा रेडियो नेपालको जिल्ला सम्वाददाता भएर ६ महिना काम गरिन् ।

२०५१ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२/०५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गरिन् ।

चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष भइन । गैरसरकारी संस्थामार्फत क्रियाशिल चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित भएकी थिइन् ।

252
Shares
१३ मंसिर २०७९, मंगलवार २०:१३