झापा । डकैती र बलात्कार गरेर फरार बनेका झापाका १ जना वृद्ध पुरुषलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
कनकाई नगरपालिका–४ (साविकको सुरुङ्गा गाविस–४)का ७७ वर्षीय धनपति ढुंगानालाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनका अनुसार बलात्कार र डकैतीमा संलग्न ढुंगाना अदालतले तोकेको कैद र जरिवाना भुक्तान नगरिकन १२ वर्षदेखि फरार थिए ।
प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी र डाँका मुद्दा चलाएको थियो । जिल्ला अदालत झापाले २०६७ साल पुस १३ गते ढुंगानालाई ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेर प्रहरीले बुझाएपछि ढुंगानालाई अदालतले कैद सजाय भुक्तानका लागि भद्रपुर कारागार चलान गरेको छ ।