अन्टारियो। क्यानाडाको टोरन्टो प्रहरीले चार दशकअघि मृत फेला परेका दुईजना महिलाको हत्या आरोपमा ६१ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। उनीहरुको हत्या कसले गरेको हो भन्ने लामो समय अनुसन्धान गर्दा पनि पत्ता लाग्न सकेको थिए।

एरिन गिलमोर र सुसान टाइसमाथि यौन दुर्व्यवहारपछि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा पाइएको थियो।

प्रहरीले घटना भएको ४० वर्षसम्म निरन्तर अनुसन्धान भइरहँदा पनि मुख्य कुरा पत्ता लाग्न नसकेको अवस्थामा अब भने धेरै कुरा स्पष्ट भएको जनाएको छ।

प्रहरीले हत्यामा संलग्न रहेको भनिएका व्यक्तिलाई पक्राउ गरी जानकारी सार्वजनिक गरेपछि गिलमोरका भाइले लगभग आफूहरुले जीवनभर पर्खिरहेको कुरा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

२२ वर्षीया एरिन गिलमोर फेसन डिजाइनर थिइन्। सन् १९८३ मा क्रिसमसको पाँच दिनअघि योर्कभिलस्थित अपार्टमेन्टमा मृत फेला परेकी थिइन्।

यसैगरी ४५ वर्षीया टाइस चार सन्तानकी आमा अनि सामाजिक कार्यकर्ता थिइन्। प्रहरीका अनुसार दुबैलाई पटक पटक यौन दुर्व्यवहार गरी छुरा प्रहार गरिएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा अनेक खाले विधि अपनाएको थियो। डिएनए परीक्षणलगायत अरु विशेष तरिका पनि अपनाइएको थियो।

सन् २००८ मा उक्त घटनामा संलग्नको जानकारी दिनेलाई दुई हजार डलर पुरस्कार घोषणा पनि गरिएको थियो। तर प्रहरीले केही जानकारी हासिल गर्न सकेको थिएन।

अन्ततः प्रहरीको निरन्तरको अनुसन्धानले सफलता पायो। जोसेफ जर्ज सदरल्याण्ड मेसोनीलाई उक्त हत्याका संलग्न भएकामा अन्टारियोमा प्रक्राउ गरिएको हो।

उनलाई डिएनएको विशेष परीक्षणका क्रममा दोषी पाइएको प्रहरीले जनाएको छ। दुईजनाको हत्या आरोपमा प्रहरीले ती व्यक्तिमाथि मुद्दा चलाएको छ।

पक्राउ परेका सदरल्याण्डलाई डिसेम्बर ९ मा टोरन्टो अदालतसमक्ष उपस्थित गराइने भएको छ।

14
Shares
१३ मंसिर २०७९, मंगलवार ०८:३३