फाइल तस्बिर ।
विराटनगर । जहाज ढिलो आएको भन्दै आक्रोशित बनेका यात्रुले सोमबार राति विराटनगर विमानस्थलमा तोडफोड गरेका छन् ।विमानस्थलका अनुसार श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जानलाई तयारी अवस्थामा रहेका यात्रु होहल्ला गर्दै तोडफोडमा उत्रिएका हुन् । ७६ जना यात्रु जहाजको प्रतीक्षामा थिए । साँझ ७ः३० बजेको उडान समय दिइएको थियो ।
तर जहाज ८ः४५ बजेतिर मात्रै आइपुग्यो । अवतरण गर्नेवित्तिकै खराबी आएको भनेर उक्त जहाज विराटनगर विमानस्थलमै रोकियो । यात्रु लिन आएको जहाज काठमाडौं फर्कन नसक्ने भनेर माइकिङमार्फत अर्को जहाज आउँदै गरेको जानकारी गराइयो ।अर्को जहाज आइपुग्न केही समय लागेपछि गन्तव्यमा पुग्न ढिलो भएको भन्दै आक्रोशित बनेका यात्रु तोडफोडमा उत्रिएको विमानस्थल प्रमुख रेन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार राति ९ः३० बजेतिर यात्रुले तोडफोड गर्दा प्रस्थान कक्षको सिसा फुटेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । काठमाडौंबाट केहीबेरमै आइपुगेको अर्को जहाजले यात्रु लिएर गएपछि अवस्था साम्य भएको शेर्पाको भनाइ छ । उनका अनुसार काठमाडौंको मौसम ढिलो खुलेकाले सोमबार बिहानैदेखि उडानमा ढिलाइ भइरहेको थियो ।उडान डिले हुँदा यात्रुले समयमै गन्तव्यमा पुग्न पाएनन् । ‘मौसमका कारण उडानमा बिहानैदेखि ढिलाइ भइरहेको थियो । पछि यात्रु लिन आएको जहाजमा पनि समस्या देखियो,’ शेर्पाले भने, ‘त्यसपछि आक्रोशित बनेका यात्रु तोडफोडमा उत्रिए । तोडफोडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ ।’