काठमाडौं । ब्राजिल लगातार दोस्रो जित हात पार्दै जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन ब्राजिलका लागि क्यासिमिरो नायक बने ।
सोमबार राति भएको समूह ‘जी’ को खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले पराजित गरेको हो । स्टेडियम ९७४ मा पहिलो हाफ गोलरहित बराबरीमा सकियो । चोटका कारण स्टार स्ट्राइकर नेयमार बिना मैदान उत्रिएको ब्राजिलले आकर्षक खेल प्रस्तुत गर्न सकेन ।
क्यासिमिरोको गोलभन्दा अघि ब्राजिलियन समर्थकले खुशी मनाउने एउटा मात्रै अवसर पाएका थिए । २७ औँ मिनेटमा भिनिसियस जुनियरको प्रहार स्वीस गोलकिपरले बचाए । उनैले गरेको गोलले मान्यता पाएन । खेल गोलरहित बराबरीमा सकिने संकेत गर्दा क्यासिमिरोले डेडलक तोडे । उनले ८३ औँ मिनेटमा गोल गरेपछि ब्राजिलले समूह ‘जी’ बाट एक खेल अगावै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो ।
जारी विश्वकपमा ब्राजिल नकआउट पुग्ने फ्रान्सपछि दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्वियालाई २-० गोलले पराजित गरेको थियो ।
ब्राजिल विश्वकप समूह चरणमा कीर्तिमानी १७ खेल यता अपराजित छ । स्वीट्जरल्यान्ड तीन अंकसहित दोस्रो , एक अंक बटुलेको क्यामरुन तेस्रो र समान अंक भएको सर्विया चौथो स्थानमा छ । यी तीनै टिमको नकआउट पुग्ने सम्भावना बाँकी छ । अन्तिम खेलमा ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्वियासँग प्रतिस्पर्धा गर्ने छन् । क्यामरुन र सर्वियाले ३-३ गोलको बराबरी खेलेका थिए ।