सतिसकुमार राजवंशी
विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा १ मा सोेमबार एक दिने रोेजगार मेला आयोजना गरिएकोे छ । रोजगार खोजिरहेका युवालाई रोजगारदाताहरुसँग समन्वय गरी जोड्ने लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।
स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु एवं रोजगारदाताबीच सम्पर्क स्थापित गरी रोजगारीका लागि सहजीकरण गर्ने मेलाको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
कामको खोजीमा रहेकाहरुको नाम दर्ता गर्ने, रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुबीच भेट गराउने काम मेलामा गरिएको थियो ।
मेलाको उद्देश्य प्रदेश १ मा स्थानीय उदोग वाणिज्य संघ र रोजगार सेवा केन्द्रहरुबीच समन्वयका लागि संयन्त्र स्थापना गर्ने पनि रहेको जनाइएको छ ।
मेलाको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले उद्घाटन गरेका थिए ।
त्यस अवसरमा उनले यस्ता कार्यक्रमले युवालाई रोजगारीका लागि विदेशिनबाट रोक्ने र युवा शक्तिलाई देशभित्रै उपयोग गर्न मद्दत पुग्ने बताए । राष्ट्रलाई निर्यातमुखी बनाउन युवाको श्रम देशभित्रै प्रयोग गर्न आवश्यक रहेको उनले बताए ।
मेलामा राष्ट्रिय स्तरका बिभिन्न कम्पनीहरु संलग्न थिए । काम खोज्दै आएका श्रमिकहरुको क्षमता, विज्ञता र काम गर्ने इच्छाको मूल्याङकन गर्दै आवेदन फर्म भर्न लगाइएको थियो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले रोजगारदाता कम्पनीलाई श्रमिकलाई दक्षता, क्षमता र योग्यता हेरी काम दिन आग्रह गरे ।
कटहरी १ का वडाध्यक्ष हरि राजवंशीले मेलाबाट कम्तीमा दुई सय जनालाई रोजगार दिलाउने विश्वास व्यक्त गरे । श्रमिकको योग्यता र क्षमता हेरी काम दिलाइने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यस्ता कार्यक्रमले विदेशबाट फर्किएका युवा शक्तिलाई विदेशमा सिकेको सीपलाई स्वदेशका व्यवसाय, उद्योगमा उपयोग गर्दा राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए ।
व्यावसायिक परामर्श, सीप विकास परामर्श, करिअर सल्ला, मार्गदर्शन र रोजगार मिलामार्फत् फर्केका आप्रवासी कामदारहरुको अन्तर्वार्ता गराउने गरिएको छ ।
यसैगरी स्थानीय तहका सूचना केन्द्रमा आवश्यक सूचना प्रवाह गर्ने जनाइएको छ । बेरोजगार, आप्रवासी, वैदेशिक रोजगारबाट फर्किएका कामदारको विवरण आगामी दिनमा अद्यावधिक गरिने जानकारी दिइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को ‘वेलकम होम’ परियोजनाको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश १ र कटहरी गाउँपालिकाले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् ।
(प्रशिक्षार्थी)