विराटनगर । प्रदेश १ को सोलुखुम्बुमा निर्माण गरिएको मध्य सोलुखोला आयोजनाले यसै महिना परीक्षण उत्पादन गर्ने भएको छ । उक्त आयोजनासहित देशका विभिन्न जिल्लामा रहेका ४७ वटा आयोजनाबाट उल्लेख्य परिमाणमा बिजुली थपिने भएको छ ।

चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् । विद्युत् विकास विभागका चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् ।

कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् । उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक वर्षमा ५७ वटा आयोजनाको ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ ।

यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन् । मंसिर लागेसँगै २५ मेगावाटको अप्पर दोर्दीले पनि परीक्षण उत्पादन सुरु गरेको छ ।

यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) र सोलुखुम्बुको मध्य सोलुखोला (नौ मेगावाट) ले यही महिना परीक्षण उत्पादन गर्ने भएका छन् ।

प्राधिकरणका अनुसार मंसिरभित्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत थप हुँदै छ । यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर दोर्दी ए आयोजनाले परीक्षण उत्पादन थालिसकेको छ ।

पुसमा १० मेगावाटको मार्कीगाड, ४।७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन् । माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट क्षमताका आयोजनाले व्यावसायिक विद्युत उत्पादन गर्ने योजना विद्युत विकास विभागमा पेस गरेका छन् ।

८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायत नौ जलविद्युत् आयोजना पनि माघमै विद्युत उत्पादन थाल्ने योजनामा छन् ।

फागुन भरमा नेपालमा विद्युतको जडित क्षमता ८४.३ मेगावाट थप हुने छ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२, १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला, १८ मेगावाटको अप्पर सोलुखोलालगायत सातवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्दैछन् ।

यसअनुसार फागुनसम्म थपिने ५४३ क्षमताका आयोजनाका कारण प्राधिकरणलाई भारतबाट कम मात्रै विद्युत आयात गरे पुग्ने अवस्था आएको छ ।

14
Shares
१२ मंसिर २०७९, सोमबार १३:५७