काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रदै छन् । ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।
तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।
चौंथो खेलमा समूह ‘जी’ मा रहेको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा छ । उरुग्वे पनि पहिलो जितको योजनामा छ ।
नेयमर खेलमा फर्कने विश्वास
छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास रहेको छ, विश्व फुटबलका सबैभन्दा महँगा खेलाडी नेयमर चोटबाट फर्केर टिमको नेतृत्व गर्न सक्षम हुनेछन् ।
कतारमा ब्राजिलको पहिलो खेलमा नेयमरको घुँडामा चोट लागेको थियो । सर्बियाविरुद्ध प्राप्त २–० जितमा उनी खेलको अन्त्यतिर मैदानबाट बाहिर निस्केका थिए ।
समूह ‘जी’ मा ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दा उनले नखेल्ने निश्चित मानिएको छ । डर त के थियो भने सम्भवतः उनले पूरा प्रतियोगिता नै खेल्न सक्ने छैनन् । डिसेम्बर १८ को फाइनल अगाडि उनी चोटबाट मुक्त हुन संघर्षरत रहने सम्भावना थियो ।
डिफेन्डर तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का साथी खेलाडी मारक्विन्होले नेयमर गहन उपचारमा संलग्न रहेको र पूर्ण निको भएर मैदानमा फर्कन प्रयासरत रहेको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मारक्विन्होले भने, ‘अहिले उनलाई गाह्रै भइरहेको छ ।’