विराटनगर । सुनसरी र उदयपुरमा मतगणना रोकिएको छ । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यको मतगणनामा कमजोरी देखिएपछि विवाद हुँदा रोकिएको हो ।

मतगणना सञ्चालन गर्नेबारे छलफल गर्न त्यहाँसर्वदलीय बैठक बसिरहेको छ । इनरुवा नगरपालिकास्थित मगगणना स्थलमा आइतबार बिहान ८ बजेबाट सुरु भएको सर्वपक्षीय बैठकले निचोड निकाल्न नसकेपछि फेरि वैठक बसिरहेको हो ।

नेपाली कांग्रेस प्रदेश १ का सदस्य एवं सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङका अनुसार बिहानदेखि सर्वपक्षीय बैठक बसिरहेको छ । आफ्ना माग सुनुवाई नभएसम्म गणना कार्य अघि बढाउन नहुने उनले बताए ।

६ सय ६ मतलाई गणनामा बसेका निर्वाचन कार्यालयका कर्मचारीले हेरफेर गरेपछि शनिबार दिउँसोबाट गणना रोकिएको उनले बताए ।

त्यस्तो त्रुटि सुरुबाटै भएको हुन सक्ने भन्दै उनले हालसम्म गणना गरिएको सबै मत पुनः गणना गर्नुपर्ने माग गरेको बताए ।

शुक्रबार राति मत गणना गरी मिलाएर आयोगमा पठाउने र बाहिर उपस्थितलाई जानकारी गराउने क्रममा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतको ६ सय ६ मतको फरक देखिएको थियो ।

त्यसबेला बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ८ र हरिनगर गाउँपालिकाको मतगणना भइरहेको थियो ।

मतगणनामा देखिएको फरकपनलाई गणनास्थलमा बसेका कर्मचारीले पुनः गणनाको लागि निर्वाचन अधिकृतलाई निवेदन दिएपछि घटना बाहिरिएको थियो ।

घटना सार्वजनिक भएपछि एमालेको पक्षमा जोडिएको ६ सय ६ मत निर्वाचन अधिकृतको कार्यालयले घटाएर आयोगमा पठाएको थियो ।

यसबीच, निर्वाचन अधिकृतको कार्यालयले विज्ञप्ति जारी गर्दै मतगणना गर्ने अवस्था र वातावरण सहज नभएकाले गणना कार्य रोक्नुपरेको जनाएको छ ।

हालसम्मको अवस्थामा उक्त क्षेत्रमा सञ्चारमन्त्री रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको २३ हजार ४ सय ३९ मत आएको छ ।

त्यसैगरी, एमाले उम्मेदवार एवं प्रदेश १ का पूर्वमन्त्री कुसियैतको २३ हजार ३ सय ४१ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुरमा पनि

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९ख० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मत भेटिएपछि दलहरुले गणना रोक्न माग गरेका थिए ।

मतगणना सुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । कुल ७६ हजार ७५६ मत खसे उदयपुर(१ मा ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डा. नारायण खडकाले १ हजार ८२५ मतले अग्रता लिएका छन् ।

28
Shares
११ मंसिर २०७९, आईतवार १४:३७