२०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दल बन्न सकेको थिएन । तर यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ ।
४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसद्मा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् ।केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छैन भने सिट बाँँडफाँट पनि गरिएको छैन ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बन्ने निश्चित छ । यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसदमा राजेन्द्र लिङ्देन र प्रदेशसभाअन्तर्गत प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र कर्णालीमा सोशीला शाहीकाे मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो ।राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् ।
यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क)बाट ज्ञानुजंग लामा, धादिङ २ (ख)बाट डम्बर तामाङ, काठमाडौं २ (क र ख)बाट क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क)बाट राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख)बाट उद्धव थापा, काठमाडौं ९ (क)बाट नुरज बज्राचार्य, रुपन्देही १(क)बाट आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् ।
समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँट पछि यो संख्या बढ्नेछ ।