यसपटकको आम निर्वाचन रोमाञ्चक बन्यो । पहिलो पटक मतदान । पहिलो पटक निर्वाचनसम्बन्धी गतिविधिको रिपोर्टिङ । नयाँ मतदाताका रुपमा एकखाले कौतुहल त थियो नै, निर्वाचनबारे समाचार लेख्ने प्रयास पनि रह्यो ।

मतदानका दिन गाउँ पुगेको थिएँ । मतदान गरिसकेपछि विराटनगर फर्किएँ । क्षेत्र नम्बर ५ को मतदाता, बसाइ क्षेत्र नम्बर ६ । विराटनगर फर्किएर विभिन्न मतदान केन्द्रहरुको अवलोकन गरियो ।

ती केन्द्रहरुमा मतदानका लागि पालो पर्खिरहेका मतदातासँग कुराकानी पनि गरियो । समाचार बनाइयो । यी सबै काम गरिरहँदा मतदाताहरुमा एकखाले उत्साहका साथै निरासा पनि देखिन्थ्यो ।

धेरै वर्षदेखि लगातार मतदान गरिरहेको अनि धेरै नेताहरुलाई जिताएर पठाए पनि आफ्नो क्षेत्रका विकास हुन नसकेको गुनासो धेरै मतदाताको थियो ।

गत आइतबारका दिन मतदान सकिएपछि मटपेटिका संकलनको काम भइरहँदा मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मत गणनास्थल विराटनगरको आदर्श विद्यालयमा धेरै सञ्चारकर्मी भेला भएका थिए ।

मतपेटिका संकलन गरेको तस्बिर लिने अनि निर्वाचनको पछिल्लो अवस्थाबारे जानकारी लिने काम भयो । अबेरसम्म मतपेटिका संकलनको काम जारी रहेकाले सोमबारदेखि मात्र मतगणना सुरु गर्ने निर्वाचन कार्यालयले जानकारी गरायो ।

सोमबार बिहानैदेखि सञ्चारकर्मी, राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवारका समर्थक र शुभेच्छुक मतगणनाबारे जानकारी लिन आदर्श विद्यालय आसपास भेला भइसकेका थिए ।

म्यादंी प्रहरी, सशस्त्र प्रहरी, सेना, मतगणक, निर्वाचन अधिकृत, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको ठूलो उपस्थिति थियो ।

बिहान सर्वदलीय वैठक बसेर छलफल गरेपछि दिउँसोबाट मतगणना सुरु भयो । मत गन्न थालिएपछि बेला बेलामा त्यसको प्रारम्भिक नतिजा सार्वजनिक हुन थाल्यो । तक्कालै त्यो जानकारी लिएर कार्यालयमा पठाउनुपर्ने काममा सक्रिय भइयो ।

सक्दो चाँडो जानकारी र सम्बन्धित तस्बिरहरु नियमित पठाउने काममा लाग्दा समय बितेको पत्तै भएन । मतगणनाको नतिजा आधिकारिक रुपमा थाहा पाउन मतगणना स्थलमै उपस्थित हुनुपर्ने अनिवार्य हो । नत्र कतिपय सूचनाहरु गलत आउने हुन्छ । यसले समाचारको सत्यतामा प्रश्न उठ्न सक्छ ।

यही कुरालाई मध्यनजर गर्दै नियमित रुपमा गणनाको नतिजा प्रत्यक्ष रुपमा निर्वाचन कार्यालयका कर्मचारीहरुबाट लिने काम भइरह्यो ।

मतगणनाको पहिलो प्रारम्भिक नतिजा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को आयो । त्यसपछि क्रमशः अरु क्षेत्रका पनि आउन थाल्यो । जति जति गणनाको नतिजा माइकिङ हुन थाल्यो उति नै त्यहाँ उपस्थितहरुको उत्सुकता बढिरहेको थियो ।

मतदाताहरु पनि उल्लेख्य संख्यामा आदर्श विद्यालयबाहिर मतपरिणाम सुन्न उत्सुकताका साथ बसिरहेका थिए । आफ्नो समर्थनको उम्मेदवार र पार्टीको मत अरु प्रतिस्पर्धीको भन्दा बढी आएका बेला उनीहरु खुसी हुँदै हुटिङ गरिरहेका थिए । आफूले चाहेको उम्मेदवारको कम मत आएका बेला उनीहरु खिन्न देखिन्थे ।

मतगणनाको प्रारम्भिक चरणमै अग्रता बनाएका उम्मेदवारहरुले अन्तिम परिणाम आउँदा जित हासिल गरे । एक–दुईजनामा भने यो कुरा लागू भएन । केहीले सुरुआती चरणमा अग्रता लिए पनि अलि पछि प्रतिस्पर्धी उम्मेदवारले उछिनेर अगाडि गएका थिए ।

मतगणना सोचेजस्तो तीव्र गतिमा नहुँदा त्यहाँ उपस्थित सबै अधैर्य बनिरहेका थिए । अन्यत्रको परिणाम धमाधम आइरहँदा त्यहाँको भने निकै ढिलो भइरहेको भन्दै गुनासो पनि व्याप्त भयो । जनशक्ति कम भएकाले गणना ढिलाइ भएको भन्ने गुनासोहरु पनि सुनिए ।

आदर्श विद्यालयमा गरिएको मतगणनाको अन्तिम नतिजा आएर विजयी हुनेमा परे, नेपाली कांग्रेसका गयानन्द मण्डल । उनले क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा विजय प्राप्त गरेका थिए ।

त्यहाँ गणना गरिएको मतबाट मोरङको तीन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य एवं ६ जना प्रदेशसभा सदस्य निर्वाचित भए ।

तीमध्ये सबैभन्दा चासोमा पर्नेहरुमा नेपाली कांग्रेसका नेता एवं ६ नम्बर क्षेत्रका उम्मेदवार डा. शेखर कोइराला, उनका प्रतिस्पर्धी एमाले नेता लालबाबु पण्डित थिए ।

रोमाञ्चक परिणाम ल्याउनेमा परे क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यमा विजयी योगेन्द्र मण्डल । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले उल्लेख्य मतका साथ विजय हासिल गरे ।

मतगणनाको सुरुआती बेलामा अग्रता कायम राखिरहेकी मोरङ क्षेत्र नम्बर ६ (क) की उम्मेदवार एमालेकी रिता न्यौपानेको अग्रता पछिसम्म रहन सकेन । उनी माओवादी केन्द्रका जीवन आचार्यसँग पराजित भइन् ।

यसपटक भरखरै खुलेका नयाँ दलहरुले पनि उल्लेख्य रुपमा मत प्राप्त गरेको पाइएको छ । विगतका दलहरु अनि उम्मेदवारहरु पटक पटक दोहारिइरहँदा मतदाताहरुमा बेग्लै खालको छाप परेको पाइन्छ । त्यसैले पनि नयाँ पार्टी र नयाँ उम्मेदवारले उल्लेख्य संख्यामा मत पाएको बुझ्न कठिन छैन ।

मतगणनाका बेला सक्रिय रहँदा धेरै प्रक्रियाहरुबारे जानकारी लिन सकियो । दिनरात मतगणना स्थलमा रहँदा धेरै कुरा सिक्ने मौका पनि मिल्यो । अग्रज र नयाँ पत्रकारहरुसँग चिनजान बढ्यो ।

निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुसँग भलाकुसारी हुँदा पनि धेरै कुराहरु जान्ने अवसर प्राप्त भयो ।

निर्वाचन अघिका दिनहरुमा कतिपय उम्मेदवारका प्रतिबद्धताबारे समाचार तयार पारियो । योभन्दा बढी विभिन्न क्षेत्रका मतदाताहरुको आशा र अपेक्षा समेटेर समाचार प्रस्तुत गरियो ।

समग्रमा योपटकको निर्वाचन एउटा सिक्दै गरेको सञ्चारकर्मीका रुपमा मेरालागि निकै नै महत्वपूर्ण रह्यो । अबका दिनमा हुने निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने, मतदान प्रक्रियाका विभिन्न पक्ष अनि मतगणनाका कतिपय प्राविधिक कुराहरु कसरी बुझ्ने भन्ने थोरै भए पनि अनुभव लिन सकिएकामा धेरै उत्साहित भएको छु ।

निर्वाचनका बेला पहिले धेरैतिर विवाद, झडप अनि हिंसात्मक गतिविधि हुने गरेको सुनेको थिएँ । तर मोरङ, खासगरी विराटनगरमा त्यस्तो केही भएन । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । मतदानका दिन केही केन्द्रमा सामान्य खाले विष्फोट भए पनि त्यसबाट क्षति भने भएन ।

निर्वाचन सकिएको छ । अधिकांश क्षेत्रको परिणाम पनि आइसकेको छ । अबका दिनमा चुनिएर जाने प्रतिनिधिहरुले आफ्ना बाचा पूरा गर्न ध्यान दिनुपर्छ जस्तो लागेको छ । यसो नगरे मतदाताले फेरि पनि गुनासो गर्ने अनि दल र उम्मेदवार अनि निर्वाचनप्रति नै अविश्वास गर्ने वातावरण नबन्ला भन्न सकिंदैन ।

805
Shares
११ मंसिर २०७९, आईतवार १३:२२