विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट दुवै प्रदेशसभामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । १ (क) बाट उमाकान्त गौतम ३ हजार ५२७ मतान्तरले निर्वाचित भएका हुन् ।

उनले १३ हजार ५३१ मत पाए भने प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुलप्रसाद साम्बाले १० हजार ४ मत पाएका थिए ।

साम्बा २०७४ सालको निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ १ (ख) बाट एमालेकै खड्गबहादुर बस्नेत प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले प्रदेश १ का यातायात तथा सञ्चरमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई ६७६ मतान्तरले पराजित गरे ।

बस्नेतले १४ हजार ५३९ मत पाए भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का घिमिरे १३ हजार ८६३ मत प्राप्त गरे ।

प्रदेशसभातर्फ दुवै क्षेत्र जितेको एमालेले प्रतिनिधिसभा भने गुमाएको छ । एमालेका घनश्याम खतिवडालाई ४३० मत अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका डिगबहादुर लिम्बू मोरङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

लिम्बूले २७ हजार २९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले २६ हजार ८६७ मत मात्रै ल्याउन सके ।

14
Shares
११ मंसिर २०७९, आईतवार १०:१२