विराटनगर । प्रदेश १ का झापा र तेह्रथुम जिल्लामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टर र मोटरसाइकल दुर्घटना भएको हो ।
झापाको बिर्तामोड नगरपालिका–९ कंचनटोलमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–००१ त ८४८८ नम्बरको ट्याक्टर शनिबार साँझ ६ः२५ बजेतिर दुर्घटना हुँदा वृद्ध पुरुषको मृत्यु भएको छ । धान लोड गरिएको ट्याक्टर अनियन्त्रित भएर ट्रली पल्टिँदा बिर्तामोड–९ का ७२ वर्षीय बुद्धीराज श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । श्रेष्ठकै धान लोड गरेर लैजाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्याक्टरका धनीसमेत रहेका चालक ६१ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका–९ स्थित म्याङलुङ–फेदाप सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार म्याङलुङबाट फेदापतर्फ जाँदै गरेको को २१ प ४२२८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
मोटरसाइकल सडक छेउको पिलरमा ठोक्किँदा चालक फेदाप गाउँपालिका–२ का ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान २ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय सुगत लिम्बू घाइते भएका छन् । उनको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको छ ।