विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु मिलेर मात्रै पनि सरकार बन्न सक्ने संकेत देखिएको छैन ।

एमालेसहितको अर्को गठबन्धनको पनि यस्तै अवस्था छ । सरकार बनाउनका लागि दुबै पक्षलाई अरु दलको सहयोग आवश्यक पर्ने देखिएको छ ।

पछिल्लो परिणामअनुसार प्रदेश १ का ५६ प्रदेशसभा सदस्यमध्ये ४९ क्षेत्रको टुंगो लागेको छ । यसमा सत्ता गठबन्धनले २५ र एमालेसहितको गठबन्धन २४ क्षेत्रमा विजयी बनेको छ ।

एमालेका उम्मेदवार २२, कांग्रेसका १४, माओवादी केन्द्र ९, नेकपा (एकीकृत समाजवादी) र राप्रपा २–२ जना उम्मेदवार विजयी बनेका छन् ।

अन्तिम परिणाम आउन बाँकी क्षेत्रमध्ये कांग्रेस ३, एमाले २ र नेकपा (एकीकृत समाजवादी) ले एक क्षेत्रमा अग्रता बनाएका छन् । सुनसरी ३ (ख) को गणना हुन बाँकी छ ।

यसअघिको निर्वाचनमा एमालेले ३६ र माओवादी केन्द्रले ११ प्रदेशसभा सदस्यमा विजय प्राप्त गरेका थिए । कांग्रेसले ८ र तत्कालीन संघीय समाजवादी फोरमले एक स्थान जितेका थिए ।

प्रदेशमा ३७ जना समानुपातिक सांसदमध्ये एमालेले १५, माओवादी केन्द्रले ५, कांग्रेसले १३, संघीय समाजवादीले २, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १–१ जना प्रदेश सांसद पाएका थिए ।

प्रत्यक्ष र समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सदस्य थिए । एमालेले माओवादी केन्द्रसँग मिलेर प्रदेश सरकार बनाएको थियो ।

यसपटक बहालवाला मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु अनि पहिले संघीय संसदमा प्रतिनिधित्व गरिसकेका नेताहरु पनि मुख्यमन्त्री बन्ने योजनासाथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसबाट मुख्यमन्त्रीका लागि केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली, प्रदेश १ समितिका सभापति उद्वव थापा, हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईलगायत चर्चामा छन् ।

प्रदेश सभापति थापाको नाम कांग्रेसको समानुपातिक सूचीको १ नम्बरमा छ ।

यसैगरी माओवादी केन्द्रबाट मन्त्री इन्द्रबहादुर आङ्बो, हर्कबहादुर लावती मुख्यमन्त्रीका लागि चर्चामा छन् । हालका मुख्यमन्त्री एकीकृत समाजवादीबाट राई पनि दोहोरिन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु