आज फेरि
एक हुल चटकेहरु
अभिनय गर्नेछन् बुद्ध भएर
एक हुल नौटङ्कीहरु
नाटक देखाउनेछ्न्
शेक्सपियर भएर ।
अन्वेषणमा बराबर भाग लिँदै
मेदम क्युरी सँगै सोच्छन्
मदर टेरेसाहरु सँगै हिड्छन्
झाँसी की रानीसँगै दौडिन्छ्न्
समानताको आकर्षक नारा लिएर ।
उनीहरू महान आदर्श ओकलेर
नारीको सम्मानमा सहानुभूति देखाउँदै
आफू चेखब, एङ्गेल्स भएको सुनाउँछन्
मार्क्स, लेनिन भएको सिद्ध गर्छन्
एकपल्ट फेरि भन्नेछन् !
कहाँ गाह्रो छ र ? अन्तरिक्षमा पुग्न
तपाईंहरु भेलेन्तिना तेरेस्कोबा हो!
कहाँ गाह्रो छ र सगरमाथा चढ्न
तपाईंहरु पासाङ ल्हामु पनि हो ।
कहाँ गाह्रो छ र अधिकार प्राप्त गर्न
तपाईंहरु क्लारा जेटकिन पनि हो !
जोडले दबाउने छ्न् मिलाएर हात
थपथपाउँछन् महिलाको काँध
डुलाउनेछ्न् आफ्ना चञ्चल हात
पिठिउँमा ! स्याबासी सहित
र भन्नेछन् सलमान रुस्दी बनेर
नारीमा अदभूत शक्ति हुन्छ !
कुरीतिहरु फ्यालेर निस्कनु पर्छ घरबाट ।
फुसफुसाउने छन् कानमा
किलियोपेट्रालाई झैँ
लाजले रातो पर्छन् महिला
नतमस्तक भएर
बिर्सिन्छ्न् आफ्ना सङ्घर्ष
बिर्सन्छ्न् आफ्नो शक्ति
जसरी बिर्सन्छ कस्तुरीले सुगन्ध ।
डुलाउने छ्न् उनीहरु नजर
महिलाहरुको स्तनमा, नितम्बमा
सम्पूर्ण शरीरमा
अनि भर्नेछ्न् मनलाई अनौठो तरङ्गले
निस्तेज बन्नेछ
माया एन्जेलोको शक्ति
सिल्भिया प्याथको स्वाभिमान ।
उनीहरु भन्नेछ्न्
आमाको आँशु हाम्रै आँशु हो !
दिदीको दुखाइ हाम्रै दुखाइ हो
बहिनीको पीडा हाम्रै पीडा हो
फेरि भन्नेछ्न्
संसारका सबै स्त्रीहरु
दिदी बहिनी हुन् ! आमाहरु हुन् !
उनीहरुको मदहोस बोलीमा
लटिट्न्छ्न् बुलन्द आवाज बोकेका
विद्रोही पारिजातहरु
जसरी इन्द्रकमलको वासनामा सर्प लटिट्न्छ्न्
जसरी क्षणिक उज्यालोमा पुतली झुकिन्छ्न्।
हरेक युगमा सोच्नेछन् जुद्द शमशेरहरुले
नारीहरू योगमाया बनुन्
र आत्मदाह गरून् ।
कति सहनु ! यहाँ
आँखाको हिंसा !
बोलीको हिंसा !
सोचको हिंसा !
मात्र हिंसा हिंसा हिंसा !
बरु बोक्नु पर्छ धनुषकाँण
जोन अफ आर्क बनेर
स्त्रीलाई मान्छे नगन्ने
आदर्शका कोरा दस्तावेज भत्काएर
लेख्नुपर्छ पूरा आकाशमा नयाँ विधान !