विश्वकपमा सहभागी ३२ वटै राष्ट्रले आ-आफ्नाे एक-एक खेल खेलिसकेकाले आजबाट म्याच विक टुका खेलहरु सुरु भएका हुन् । विक टुअन्तर्गत आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् ।
पहिलाे खेलमा वेल्स र इरान भिड्दा दुवै पहिलाे जितकाे खाेजिमा हुनेछन् । पहिलाे खेलमा वेल्स अमेरिकासँग १-१ काे बराबरीमा राेकिएकाे थियाे भने इरान इंग्ल्यान्डसँग ६-२ ले पराजित भएकाे थियाे । यी दुईबीचकाे खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ ।यस्तै, आज हुने दाेस्राे खेलमा घरेलु टोली कतारले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार पौने ७ बजे अल थुमामा स्टेडियममा सुरु हुने खेलमा कतार र सेनेगल दुवै पहिलाे जित दर्ता गराउने याेजनामा हुनेछन् । पहिलाे खेलमा कतार इक्वेडर र सेनेगल नेदरल्याण्ड्ससँग समान २-० ले पराजित भएका थिए ।
राति ९ः४५ बजे हुने तेस्राे खेलमा नेदरल्यान्ड्स र इक्वेडर आमनेसामने हुँदैछन् । खालिफा इन्टरनेसनल स्टेडियममा हुने खेलमा दुवै टोली आफ्नाे विजयी यात्रालाई निरन्तरता दिन चाहन्छन् । आ-आफ्नाे पहिलाे खेलमा जित निकालिसकेका दुवै राष्ट्र महत्वपूर्ण तीन अंक बटुल्दै अघिल्लाे चरण प्रवेशलाई सहज गर्न चाहन्छन् ।आज हुने चाैथाे तथा अन्तिम खेलमा इंग्ल्यान्ड र अमेरिका अल बायत स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । राति १२ः४५ बजे सुरु हुने खेलमा अमेरिका इंग्ल्यान्डलाई स्तब्ध बनाउँदै स्पष्ट तीन अंक बटुल्न चाहन्छ । तर इरानलाई ६-२ ले पाखा लगाउँदै विश्वकपमा आफ्नाे लय प्रदर्शन गरिसकेकाे इंग्ल्यान्ड अमेरिकालाई राेक्दै अघिल्लाे चरणकाे यात्रा सहज गर्ने याेजनामा हुनेछ ।