विराटनगर । नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) राजकुमार राई र इन्सपेक्टर (प्रहरी निरीक्षक) मिलन थापालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट घोषित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत राई र इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत थापा प्रदेश १ कै सर्वोत्कृष्ट बनेका हुन् । उनीहरुलाई प्रदेश प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले कात्तिक महिनाको सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेका छन् ।

दुवै जनालाई ‘वेष्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले विभागीय मूल्य, मान्यताको पालना गरी व्यावसायिक, लगानशील तथा कर्तव्यनिष्ठ तवरले गरेको कामको उच्च मूल्यांकन गर्दै डीएसपी राई र इन्सपेक्टर थापालाई पुरस्कृत गरिएको जानकारी दिए ।

अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा अब्बल दरिएकै कारण दुवै जनालाई सर्वोत्कृष्ट घोषित गरिएको हो । इन्सपेक्टर थापा नेतृत्वको टोली झापाको दमक नगरपालिका–१० का १५ वर्षीय दियुष श्रेष्ठ र मोरङको उर्लाबारी नगरपालिका–८ का ४२ वर्षीय काजी दर्जीको हत्यामा संलग्नलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको थियो ।

सम्पादित कार्यको उचित मूल्यांकन गर्दै प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गरेर पुरस्कृत गर्दै आएको छ । सर्वोत्कृष्ट प्रहरीको फोटो र उनीहरुले गरेका उत्कृष्ट कार्यको विवरण समेटिएको ‘फ्लेक्स प्रिन्ट’ तयार पारेर प्रदेश प्रहरी कार्यालय, १४ वटै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश मातहतका ‘क’ स्तरका इलाका प्रहरी कार्यालयमा १ महिनासम्म राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु