काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । डडेलधुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।
उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका छन् । स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी ११ हजार १७० मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भए भने बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्दराज बोहराले १० हजार ९७० मत पाए ।
बोहोरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत हुन् । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार गजेन्द्रबहादुर शाहीले १ हजार ५३५ मत प्राप्त गरे ।
२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । त्यो बेला डा. जोशी ३५८ मतान्तरले पराजित भएका थिए ।
निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट निर्वाचित भए । उनले नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन् । भट्ट १२ हजार ११२ मतसहित निर्वाचित भएका थिए । भने बोहोराले ९ हजार १९५ मत पाएका थिए ।