फोटो क्याप्सन : मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित गयानन्द मण्डल र जयप्रकाश चौधरी ।

विराटनगर । मोरङमा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा नेपाली कांग्रेस र २ वटामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रदेशसभातर्फ १२ वटा क्षेत्र छन् । हालसम्म ५ वटाको मात्रै मतगणना सकिएको छ । ७ वटामध्ये केहीको गणना हुँदैछ । केहीको गणना नै सुरु भएको छैन । मतगणना सकिएकामध्ये ३ वटामा कांग्रेस र २ वटामा एमाले उम्मेदवार निर्वाचित भएका हुन् ।

तर, निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक रूपमा हालसम्म २ वटाको मात्रै अन्तिम मतपरिणाम घोषणा गरेको छ । ३ वटाको घोषणा गर्न बाँकी छ । घोषणा गर्न बाँकी रहेका क्षेत्रमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।

समानुपातिकको गणना सकिएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कतिपय मतदाताले झुक्किएर प्रत्यक्षतर्फको मतसमेत समानुपातिकको पेटिकामा खसालेका कारण केही मत तलमाथि पर्नसक्ने भएकाले गणना भइसकेका क्षेत्रको नतिजा तत्काल सार्वजनिक नगरिएको हो ।

समानुपातिकको गणना भइसकेपछि एकैपटक सार्वजनिक गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयले मोरङको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ र ४ ‘क’को मात्रै अन्तिम परिणाम घोषणा गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले मोरङ १ ‘क’, ३ ‘क’ र ५ ‘ख’ को अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेको छैन ।

घोषणा गरेकोमध्ये ५ ‘क’मा कांग्रेसका गयानन्द मण्डल गनगाईं निर्वाचित भएका छन् । उनले १४ हजार ८४३ मत ल्याएर प्रदेशसभाको यात्रा तय गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत मात्रै ल्याए ।

त्यस्तै ४ ‘क’बाट एमालेका जयप्रकाश चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै विजयी भएका चौधरीले १५ हजार ४६५ मत प्राप्त गरे । घिमिरेले १५ हजार ५८ मत ल्याए ।

मोरङको १ ‘क’बाट एमालेका उमाकान्त गौतम निर्वाचित भएका छन् । उनले १३ हजार ७२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी कूलप्रसाद साम्बाले ९ हजार ६७६ मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेसका मानबहादुर लिम्बू ३ ‘क’बाट विजयी भएका छन् । उनले १८ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका दिलिपकुमार राईले १३ हजार ८५८ मत ल्याएका छन् ।

मोरङ ५ ‘ख’बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल १६ सय १०२ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवले १० हजार ८२४ मत मात्रै ल्याए । यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् ।

समानुपातिकको गणना भइसक्दा केही मत तलमाथि हुनसक्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयले ३ वटा क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गर्न बाँकी राखेको हो । समानुपातिकको गणना सकिएपछि एकैपटक घोषणा गर्ने तयारी छ ।

मोरङ ६ ‘क’को मतगणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यको अग्रता छ । गणनाको सुरुवातदेखि अग्रता बनाइरहेकी एमालेकी रीता न्यौपानेलाई पछि पार्दै अहिले आचार्य अगाडि बढेका हुन् ।

49
Shares
८ मंसिर २०७९, बिहीबार ०९:१४