विराटनगर । आयोजक प्रदेश १ ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश(१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको हो ।
मैदान ओसिलो भएका कारण ९ ओभरमा छोट्याइएको खेलमा नेपाल पुलिसले दिएको ६७ रनको लक्ष्य प्रदेश(१ ले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश(१ को जितमा अंकित सुवेदीले १४ बलमा २६ तथा कप्तान सिद्धान्त लोहनीले १८ बलमा अविजित २५ रन बनाए । निरज मुखियाले ७ रन जोड्दा श्रवन यादवले अविजित ४ रनको योगदान गरे ।
पुलिसका लागि राशिद खान र योगेन्द्र सिंह कार्कीले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ९ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको थियो ।
पुलिसका लागि दिलिप नाथले १४ तथा रशिद खानले अविजित १४ रन बनाए । कप्तान अमित श्रेष्ठले ११ रन जोड्दा सुनिल धमलाले ८ रन जोडे ।
प्रदेश(१ का लागि फ्रिदोश अन्सारी र सोनु मण्डलले समान २–२ तथा कमल खत्रीले १ विकेट लिए ।
६ टोली सहभागी यस प्रतियोगितामा प्रदेश १ शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल मंसिर १७ गते हुनेछ ।