लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो। साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो। कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो। जसमा मेस्सीले सहजै गोल गरे।
पेनाल्टी गोलसँगै मेस्सी चार फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने। खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन। भीएआरमा उनी अफसाइड देखिएका थिए।दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए।
यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ। साउदी समूहको शीर्ष स्थानमा छ। अर्जेन्टिना पुछारमा छ। हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा टुंगिएको छ।
अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो। सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो।