विराटनगर । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ६ वटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक भइरहेको हो । बैठक बिहान ८ बजेदेखि सुरु भएको थियो । सर्वदलीय सहमति जुटाउन आह्वान गरिएको बैठक सकिएपछि गणना सुरु हुने बुढाथोकीले बताए ।

उनका अनुसार सबै निर्वाचन क्षेत्रको मतगणना बिहान १० देखि ११ बजेसम्ममा सुरु हुने सम्भावना छ । क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिर र ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा गणना हुने छ । त्यस्तै क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श विद्यालयमा हुने छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेनव काश्यप अधिकारीका अनुसार आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेकामा ४ लाख ८७ हजार ४७ मत खसेको उनले बताए ।

क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेकामा ७६ हजार ५४ (६१.५२ प्रतिशत) मत खसेको छ । क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ७ सय २९ मतदाता रहेकामा ८० हजार १ सय २७ (६४.२३ प्रतिशत) मत खसेको छ ।

१ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ५ सय १ (६५.८ प्रतिशत) मत खसेको छ । १ लाख १० हजार ९३ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ७४ हजार ५ सय ५७ (६७.७२ प्रतिशत) मत खसेको छ ।

क्षेत्र नम्बर ५ मा १ लाख ४ सय ९४ मतदाता रहेकामा ७२ हजार ९ सय ७३ (७२.६१ प्रतिशत) मत खसेको छ । १ लाख २६ हजार ७ सय ६१ मतदाता रहेको क्षेत्र नम्बर ६ मा ८५ हजार ८ सय २७ (६७.७१ प्रतिशत) मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मोरङमा कम मत खसेको छ । स्थानीय निर्वाचनमा मोरङमा ६८ प्रतिशत मत खसेको थियो ।

70
Shares
५ मंसिर २०७९, सोमबार ०९:१०