विराटनगर । प्रतिनिधिसभातर्फ ६ वटा र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा भोलि (सोमबार) देखि मात्रै मतगणना हुने भएको छ ।

मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो ।

मोरङमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । मतदाता ७ लाख ३५ हजार ५ सय २५ थिए ।

मतदान सकिएपछि मतपेटिका संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार मतपेटिका संकलनमा समय लाग्ने भएकाले आइतबार रातिबाट मतगणना सुरु हुने सम्भावना छैन ।

मतगणनास्थल भने व्यवस्थित बनाएर तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

‘सुगम स्थानमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन सहज भए पनि दुर्गमका पेटिका संकलनमा समय लाग्ने भयो,’ दाहालले भने, ‘त्यही भएकाले रातिबाट मतगणना सुरु हुने सम्भावना छैन ।’

मोरङको निर्वाचन क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका, २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिर, ३ को बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा मतगणना हुने छ ।

क्षेत्र नम्बर ४, ५ र ६ को मतगणनास्थल विराटनगरस्थित आदर्श विद्यालयमा तोकिएको छ ।

91
Shares
४ मंसिर २०७९, आईतवार १९:४०