कतार । विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ ।

पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने १० बजे सुरु हुने तालिका छ ।

पहिलो दिन उद्घाटन कार्यक्रमसहित एकमात्रै खेल हुनेछ । दुवै टोली पहिलो खेल जित्दै विश्वकपमा विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।

युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट ३२ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् ।

कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् ।

दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४–३–३ को रणनीतिमा मैदान उतार्नेछन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ । हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ ।

मैदानमा मदिरा प्रतिबन्ध

मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिनअघि मात्रै यस्तो घोषणा गरेको हो । फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि रंगशालामा मदिरा बिक्री हुने बताइएको थियो । इस्लामिक राष्ट्र भएकाले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध छ।

आठ मैदानमा खेल 

कतारले विश्वकपमा ६४ खेलहरु आठ रंगशालामा आयोजना गर्नेछ । मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासको लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला र ६० हजार क्षमताको अल वेत रंगशाला छ । यी दुई कतारका सर्वाधिक दर्शक क्षमताका रंगशाला हुन् । आइकोलिन र अल वेतबाहेक ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुनेछन् ।

14
Shares
४ मंसिर २०७९, आईतवार १३:१६