सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौले आधारभूत विद्यालयमा सिन्धुपाल्चोकका एक व्यक्तिले स्थानीय छिरिङ शेर्पाका नाममा मत खसालेपछि विवादका कारण मतदान प्रक्रिया स्थगित भएको छ । बिहान ९ बजेदेखि स्थगित भएको मतदान प्रक्रिया हालसम्म सुरु हुन सकेको छैन ।
मोरङको बुढीगंगा गाउँपालिका १ करैया देवस्थल मतदान केन्द्रभित्र खाली जमिनमा माटोमुनि गाडिएको पदार्थ विष्फोट भएपछि मतदान स्थगित भएको छ ।उक्त स्थान मोरङ क्षेत्र नम्बर ६ मा पर्छ । त्यहाँ नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार त्यहाँ पटका विष्फोट भएको हो । ९ः१५ बजेको उक्त घटनापछि स्थगित भएको मतदान हालसम्म सुरु हुन सकेको छैन ।
यसैगरी झापाको झापा गाउँपालिका २ कुवाडीदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट करिब ६० मिटर पर बम विष्फोट भएको आवाज आएपछि मतदान स्थगित भएको छ ।१० बजेदेखि एक घण्टासम्म स्थगित भएको मतदान प्रक्रिया हाल सुरु भएको प्रहरीले जनाएको छ ।
झापाकै गौरीगञ्ज नगरपालिका ३ स्थित गौरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको मत प्रदेशसभाका लागि छुट्याइएको मतपेटिकामा हालिएको आशंकामा ९ः३० देखि मतदान स्थगित भएको थियो । दुई घण्टापछि मतदान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी संखुवासभाको चैनपुर नगरपालिका ६ स्थित सरस्वती माविको केन्द्र ‘ख’ मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको मतपत्र दिइएकाले १०ः३० बजेदेखि मतदान स्थगित भएको छ ।
उक्त केन्द्रमा रहेको प्रदेशसभातर्फको मतपत्रमा नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न ‘कलम’ नै नभएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको छ ।
संखुवासभाकै खाँदबारी नगरपालिका ३, मानेभन्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको ‘ख’ मतदान केन्द्रमा मतपत्र फरक परेपछि मतदान प्रक्रिया स्थगित भएको छ । १०ः३५ मा स्थगित भएको मतदान प्रक्रिया १२ बजे सुरु गरिएको छ ।
इलामको देउमाइ नगरपालिका ७ खान्द्रुङ मावि, पञ्चमीस्थित मतदानस्थल नजिक जंगलमा अज्ञात व्यक्तिले सुतली बमजस्तो देखिने बस्तु विष्फोट गराएपछि मतदान स्थगित भएको छ । १०ः३० मा स्थगित भएको मतदान सुरु हुन सकेको छैन ।