टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान ८ः३० बजेतिर फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । तर बम नरहेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार मतदानका दिन मतदातालाई त्रसित बनाउनका लागि निर्वाचन विरोधी गतिविधि गर्दै आएको समूहले उक्त वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ । सबै मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको जानकारी उनले जानकारी दिए ।सबैतिरको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्क भएर मतदान गर्न मतदातालाई उनको आग्रह छ । ‘मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारी सबैको सुरक्षाको ग्यारेन्टी गरिएको छ,’ एसपी कोइरालाले भने ।
यसैबीच मोरङमा उत्साहपूर्ण हिसाबले मतदान जारी छ । मतदाताहरु बिहानैदेखि मत खसाल्न लाइनमा बसेका छन् । मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन् ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै केन्द्रमा मतदान जारी छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् । बिहान १०ः३० बजेसम्म २० हजार ७ सय २६ जनाले मतदान गरिसकेका छन् । हालसम्म मोरङमा २.८२ प्रतिशत मतदान भइसकेको छ ।