यस घटनालाई मतदाता शिक्षाको अभावका रूपमा लिइएको छ । झापा क्षेत्र नम्बर –४ अन्तर्गत शिवसताक्षी नगरपालिका–१० को बाल निकुञ्ज माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार मतदान सुरु भएको केहीबेरमै स्थगित गर्नु परेको हो । उनले प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको जानकारी दिए ।उत्पन्न समस्या समाधानका लागि सर्वदलीय छलफल भइरहेको उनले बताए। मतदान अधिकृतको कमजोरीले त्यसो भएको हुन सक्ने बताइएको छ । झापामा ७६६ वटा स्थायी र दुईवटा अस्थायी मतदान केन्द्र छन् ।
केही मतदान केन्द्रमा व्यवस्थापनमा ढिलासुस्ती हुँदा समयमा मतदान सुरु हुन सकेको थिएन। कतै १५ मिनेट त कतै ३० मिनेटसम्म ढिला भएको थियो। झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता छन् ।स्थगित भएको एउटाबाहेक अन्य केन्द्रमा भने मतदान जारी रहेको निर्वाचन अधिकारी नेपालले बताए । अहिले जिल्लाभर त्यस्तो कुनै अप्रिय घटना नघटेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनको भनाइ छ ।