विराटनगर । भाेलि हुने संसदीय निर्वाचनका लागि सबै तयारी सकिएकाे छ । मतदानस्थलहरु तयारी अवस्थामा रहेका छन् । सुरक्षा निकायले मतदातालाई ढुक्क भई मतदान गर्न आव्हान गरिरहेकाे छ । तर निर्वाचनको अघिल्लाे दिन (आज) दुई स्थानमा शंकास्पद वस्तु भेटिएपछि प्रदेश १ राजधानी विराटनगरका मतदाता त्रसित भएका छन् ।
विराटनगर महानगरपालिकाको वडा नंं. ३ का छुट्टाछुट्टै स्थानमा बिहान ०६ः२५ र १०ः३० बजे दुई शंकास्पद वस्तु फेला परेका थिए । शंकास्पद वस्तु विस्फाेटक पदार्थ नभएकाे र नेपाल आर्मीले त्यसलाई निस्क्रिय पारे पनि मतदातामा त्रास बढेकाे छ ।विप्लव नेतृत्वकाे नेकपा माओवादी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तराई मधेश जनता पार्टी (टाइगर्स), धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संसदीय निर्वाचन बहिष्कार गर्ने भन्दै अभियान चलाइरहेका छन् । अभियानअन्तर्गत मतदातामा त्रास छर्ने यस्ता कार्य पनि यिनै समूहले गरेकाे प्रहरीकाे अनुमान छ । केही स्थानमा भेटिएका विस्फाेटक पदार्थकाे जिम्मा विप्लव नेतृत्वकाे नेकपा माओवादीले लिएकाले प्रहरीकाे अनुमानलाई बल पुर्याइ रहेकाे छ ।
जनतामा त्रास फैलाउन आपराधिक तत्वले बमकाे नाममा आतंक फैलारहेकाे बताइए पनि कसले र कुन प्रयाेजनका लागि शंकास्पद वस्तु छाडेकाे प्रहरीले पत्ता लगाउन सकिरहेकाे छैन । प्रहरीले अनुसन्धान जारी रहेकाे र निर्वाचन सुरक्षा व्यवस्था चुस्त पारिएकाे बताइरहे पनि मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।विराटनगर-६ बस्ने रविना सुवेदी भाेलि हुने निर्वाचनमा स्वयम्सेविकाका रुपमा खटिएकी छिन् । तर शनिबार दुई पटक शंकास्पद वस्तु भेटीएपछि उनी मतदान स्थल जाने कि नजाने भन्नेमा दाेधार छिन् । त्रसित रहेकी उनले प्रहरी र प्रशासनले सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्नुपर्ने बताएकी छिन् ।
विराटनगर-८ निवासी अचुत गौतम निर्धक्क भएर भोट दिन जाने तयारीमा छन् । चुनाव बिथाेल्न अनेक समूहले यस्ता हर्कत गर्ने भएपनि पाँच वर्षमा एक पटक पाइने मताधिकारकाे भरपुर उपयाेग गर्ने उनले बताए ।
शंकास्पद वस्तु फेला परेकाे विषयले जाे काेही डराउने भएपनि भाेलि हुने निर्वाचनमा मतदान गर्नबाट काेही पनि छुट्न नहुने विराटनगर-९ का राेनक अग्रवाल बताउँछन् । सुरक्षा निकाय सक्रिय रहेकाले विश्वास गरेर, सर्तक रहँदै सबैले मतदान गर्नुपर्ने तर्फ उनले सुझाए ।
मतदानकाे दिन हुन सक्ने सुरक्षा कमजाेरीका कारण मतदान स्थल रणभूमि भएकाे थुप्रै उदाहरण भाेगेकाे, सुनेकाे र देखेकाे बताउँदै मतदाताले त्यसतर्फ निर्वाचन आयाेग, सुरक्षा निकाय, उम्मेदवार, राजनीतिक दलका नेता, कार्यकर्ता र सराेकारावाला सबैले विशेष ध्यान दिन आग्रह गरेका छन् ।
(प्रशिक्षार्थी)