विराटनगर । मोरङको उर्लाबारीमा शुक्रबार साँझ २ समूहबीच खुकुरी हानाहान भएको छ । घटनामा ३ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।
उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा साँझ ६ः१५ बजेतिर रजक थापा र कुमार लिम्बूको समूहबीच खुकुरी हानाहान भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार उर्लाबारी–६ का २९ वर्षीय थापा र उर्लाबारी–४ का ३३ वर्षीय लिम्बूको समूहबीच दोहोरो झडप भएको हो ।
निर्वाचनको मौन अवधि जारी रहेका बेला २ समूहबीच खुकुरी हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् । घटनामा उर्लाबारी–४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी–७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी–८ का ३२ वर्षीय मिलन श्रेष्ठ घाइते भएका छन् ।प्रहरीका अनुसार घाइतेमध्ये गौतम तामाङको अवस्था गम्भीर छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ । अरु २ जनाको उर्लाबारीमै उपचार भइरहेको छ ।
डीएसपी श्रेष्ठले घाइतेहरु माथि खुकुरी प्रहार भएको जानकारी दिए । घटनामा संलग्न उर्लाबारी–५ का २६ वर्षीय आशाङ तामाङ, कुमार लिम्बू र रजक थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट घरेलु हतियारसाथमा लिएर आएको २ पक्षबीच पुरानै रिसईबीका कारण झडप भएको खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।