गगन नुनिया
विराटनगर । आइतबार हुने निर्वाचनका लागि विराटनगरका विभिन्न स्थानमा मतदानस्थल बनाउने काम धमाधम भइरहेको छ । मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु परिचालन गरिएको छ ।
मतदातालाई मतदान गर्नका लागि व्यवस्था गर्न तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाका विभिन्न विद्यालय, वडा कार्यालयहरु, सरकारी कार्यालयमा मतदान स्थलमा बनाइएको छ ।
मतदानपछि मतगणना गर्ने कामका लागि पनि निर्धारित स्थानहरुमा तयारी सुरु गरिएको छ ।
मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना गर्ने स्थान आदर्श माध्यमिक विद्यालयमा तयारी भइरहेको मुख्य निवार्चन अधिकृत हेमबहादुर बुढाथोकीले बताए ।
उनीसहितको टोलीले शुक्रबार विराटनगरका ८ वटा मतदान स्थलको भ्रमण गरेको थियो । बाँसबारीको जनप्रिय, बुढी गंगा गाउँपालिका वडा १ को करैया देवस्थल र विराटनगर महानगरमा गरी २० भन्दा बढी मतदान केन्द्रको टोलीले अवलोकन गरेको थियो ।
मतदान स्थलमा तीनवटा बेग्लाबेग्लै लाम लाग्ने व्यवस्था गरिएको छ । त्यसैअनुसारको अस्थायी सरचना बनाइएको छ ।
महिला, पुरुष र अपाङ्गका लागि मतदान गर्न बेग्लाबेग्लै लाम लाग्ने स्थान घेराउ गरी बनाइएको छ ।
ह्वील चेयरमा आउनेहरुलाई सजिलो पार्न सहयोगीहरुको व्यवस्था गरिने भएको छ । अपाङ्गता भएकाहरुलाई मतदान गर्न प्राथमिकता दिइने भएको निर्वाचन कार्यालयले जनाएको छ ।
‘दृष्टिविहनिका लागि स्पर्शाक्षर लिपिद्वारा छोएर पढ्ने र बुझ्ने गरी व्यवस्था गरिएको तर दोभाषेको भने व्यवस्था हुन नसकेको बुढाथोकीले बताए ।
आदर्श बालिका माध्यमिक विद्यालयमा महिलामैत्री मतदान केन्द्र तयारी अवस्थामा छ । सरस्वती माध्यमिक विद्यालयमा महानगरको वडा ९ को मतदान केन्द्र छ ।
निर्वाचन अधिकृत पिताम्बर अवस्थीका अनुसार ४५ सयभन्दा बढी मतदाता भएकाले ४ मतदान केन्द्र राखिएको छ ।
(प्रशिक्षार्थी)