गगन नुनिया

विराटनगर । अपाङ्गता भएकाहरुका लागि निर्वाचनमा मतदान गर्न सहज व्यवस्था हुन नसक्दा समस्या पर्ने देखिएको छ । आफैँ मतदान गर्न नसक्ने अवस्थाका कारण उनीहरुलाई सहयोगीको आवश्यकता पर्छ । तर यस्तो व्यवस्था नहुँदा समस्या पर्ने गरेको उनीहरुको भनाइ छ ।

मतदान गर्न दृष्टिविहीनलाई दोभाषे सहयोग चाहिन्छ । अरू खालका अपाङ्गता भएकाहरूलाई पनि सहयोगी नभइ मतदान गर्न कठिन हुने अवस्था छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश १ का अध्यक्ष नवीनचन्द्र ढुंगेल हेमोफेलियाका कारण जन्मजात अपाङ्ग हुन् । ३१ वर्षीय ढुंगेलको मतदान गर्ने स्थान पाँचथर जिल्लाको क्षेत्र (ख) मा पर्छ ।

निर्वाचनमा अपाङ्गहरु सहज किसिमले मताधिकारको प्रयोग गर्न पाउने अवस्था बनाइनुपर्ने उनको भनाइ छ । ‘अपाङ्गा लागि छुट्टै लाइनको व्यवस्था गरिनुपर्ने साथै सहज तरिकाले मतदान गर्न सक्ने अवस्थामा नभएमा इच्छाएको व्यक्तिले मतदान गरिदिने वातावरण बनाइ दिनुपर्छ’ ढुंगेलले भने ।

‘दृष्टिविहीनका लागि अनलाइन मतदानको व्यवस्था गर्नुपर्ने हो’ ढुंगेलले भने ‘राजनीतिक दलले अपेक्षाभन्दा थोरै परिमाणमा घोषणा पत्रमा कुरा समेटेको पाइएको छ ।’

ढुंगेलका अनुसार अपाङ्गताका सुबिधाका निमित्त कानुनहरु बनेका छन् । तर प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
‘स्वास्थ्योपचा निःशुल्क गर्नुपर्ने, सामाजिक सुरक्षामा अभिवृद्धि गर्नुपर्ने, समाजिक संरचनाहरु अपाङगमैत्री बनाउनु पर्ने जस्ता योजनाहरु प्रायःजसो सबै पार्टीरुमा पहिलेको निर्वाचन घोषणा पत्रमा समेटिए पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश १ की सदस्य सुनीता तिवारी कोसी बहिरा संघकी अध्यक्ष पनि हुन् । उनी बहिरोपनाले असहज अवस्थामा छिन् । विराट बहिरा माध्यमिक विद्यायलकी शिक्षिका उनले आफूजस्तै समस्या भएका बालबालिकालाई पढाउने गर्छिन् ।

उनले सांकेतिक भाषामा पढाउने गरेकी छन् । ३८ वर्षीया तिवारीले १२ कक्षासम्म पढेकी छन् । स्नातक तहमा सांकेतिक माध्यमको व्यवस्था नभएकोले पढ्न पाएकी छैनन् ।

विराटनगर १ की बासिन्दा तिवारीले अपाङ्गका लागि सहज रुपमा मतदान गर्न पाउने व्यवस्था गरिनुपर्ने बताउँछिन् ।

उनका अनुसार अपाङ्गहरुलाई पर्याप्त रुपले सुविधा छैन । केही हदसम्म सुविधा दिइए पनि कतिपय कुरा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरुको दिनचर्या सहज हुन पाएको छैन ।

जनप्रतिनिधिहरुले विभिन्न कार्यालय, अस्पताल, सर्बजनिक ठाउँहरूमा दोभाषेको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ५ वर्ष अघिको निर्वाचनका बेला मतदान केन्द्रमा दोभाषेको व्यवस्था नहुँदा समस्या परेको उनको अनुभव छ ।

यसपटक केही स्थानमा दोभाषेको व्यवस्था गरिएको सुने पनि सबैतिर नभएको अवस्थाले गर्दा मतदान गर्न कठिन हुने उनले बताइन् ।

दृष्टि कमजोर भएका सन्तोषकुमार पण्डित राष्ट्रिय अपाङ्ग महासंघका कर्मचारी हुन् । २७ वर्षीय पण्डितको मतदान स्थल मोरङको क्षेत्र ४ मा पर्छ । राजनीतिक दलका घोषणा पत्रमा लक्षित समुदायका समस्याहरु समेट्ने भनिए पनि यसो हुन नसक्दा व्यावहारिक कठिनाइ झेल्नुपरेको पण्डित बताउँछन् ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व संसदमा गराउन पनि दलहरु उदासीन रहेको उनले बताए । उम्मेदबार बनाउनका लागि चर्चा हुने गरे पनि बेवास्ता गर्ने गरिएको पण्डित बताउँछन् ।

‘अपाङ्गताको विषय, बालबालिकाको विषय, महिलाको विषय, जेष्ठ नागरिकको विषय, दलितका विषयमा गम्भीर भएर ध्यान दिनुपर्छ’ उनले भने, ‘अनि मात्र समावेशी समाजको निर्माण हुन सक्छ ।’

पाठ्यक्रममा अपाङ्गता सम्बन्धी विषयलाई समावेश गराई सानैदेखि सोच परिवर्तन गराउन सकिने उनी बताउँछन् ।

पण्डित मतदान सहज तरिकाले गर्न सक्छन् तर पूर्ण रुपले दृष्टिविहीनका लागि सहज वातावरण नभएको उनको भनाइ छ । उनका अनुसार विद्युतीय मेसिनको प्रयोग हुन सके सजिलो हुनेछ ।

नेपालमा पाँच लाखभन्दा बढी मानिस कुनै न कुनै प्रकारको अपाङ्गता भएकाहरु रहेको तथ्याङ््क छ । सरकारले गरेको जनगणनाअनुसारको यो तथ्याङ्कभन्दा वास्तविक संख्या अझ बढी रहेको सरोकारवाला संस्थाहरुको भनाइ छ ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु