ताप्लेजुङ । ताप्लेजुङमा मतदान केन्द्र नजिकै फेला परेकाे शंकास्पद वस्तु ‘बम’ भएकाे पुष्टि भएकाे छ।
फुङलिङ नगरपालिका–२ काे मतदान केन्द्रसमेत रहेकाे याङ्लेजुङ आधारभूत विद्यालय नजिकैको बाँसघारीमा फेला परेकाे वस्तु विष्फाेटक पदार्थ भएकाे ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले जानकारी दिएका छन्।
प्रहरी प्रमुख राईका अनुसार शंकास्पद वस्तु ‘इम्प्राेभाइज्ड एक्सक्ल्युसिभ डिभाइस’ रहेकाे पुष्टि भएकाे छ । ‘इम्प्राेभाइज्ड एक्सक्ल्युसिभ डिभाइस’ घरमा मानिस आफैंले तयार गरेकाे सामान्य किसिमकाे विष्फाेटक पदार्थ हाे ।
राईका अनुसार मतदान केन्द्र सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान ०७ः३० बजेतिर फेला परेको बमलाई नेपाल आर्मीको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले डिस्पाेज गरेकाे छ ।
‘शंकास्पद वस्तु फेला पर्नसाथ हामी चनाखाे भएका थियाैँ’ प्रहरी प्रमुख राईले भने, ‘बम डिस्पोजल टोली आएर थप अध्ययन गर्याे र बम पुष्टि भएपछि त्यसलाई सुरक्षित तरिकाले डिस्पाेज गरिएकाे छ ।’
समयमै प्रहरीले खबर पाएकाे र त्यसले पार्न सक्ने असर न्यूनिकरण गर्न लागि परेकाले कुनै क्षति नभएकाे उनले बताए ।
बम कसले र किन राख्याे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
आसन्न संसदीय निर्वाचन बहिष्कार गर्ने भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका अन्य समूह नेपालभरी सक्रिय भएका छन् । पछिल्लो समय नेपालका विभिन्न ठाउँमा शंकास्पद वस्तु र बम फेला परिरहेका छन् ।
शंकादस्पद वस्तु, बम लगायतका विष्फाेटक पदार्थ भेटिए पनि प्रदेश १ काे सुरक्षा व्यवस्था कडा पारिएकाे प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताएका छन् ।
सुरक्षा व्यवस्था कडा पारिएकाे जानकारी दिँदै डीआईजी गिरीले मतदातालाई ढुक्कसँग मतदान गर्न आग्रह गरेका छन् ।