प्रिती ढुङ्गेल भण्डारी परिवारसहित अमेरिकामा छिन्। कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेकी उनी त्यसैसँग सम्बन्धित क्षेत्रमा कार्यरत छिन्।
काठमाडौंको बानेश्वरमा जन्मिएर त्यतै हुर्किएकी प्रिती वकिल हजुरबुवाकी नातिनी, मेकानिकल इन्जिनियर बुवा र शिक्षिका आमाकी छोरी हुन्।
उनका दिदी र भाइ छन्। उनी आफूसहित तीनैजना अमेरिकाको फ्लोरिडामै छन्।
काठमाडौंको महाराजगन्जस्थित भानुभक्त मेमोरियल हाइस्कुलबाट एसएलसी गरेपछि उनले भारतबाट प्लस टु सकेकी हुन्। काठमाडौं युनिभर्सिटीको पहिलो ब्याचबाट उनले कम्प्युटर इन्जिनियरिङ गरेकी हुन्।
फ्लोरिडाकोनोभा साउदइस्टर्न युनिभर्सिटीबाट ‘म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ मा मास्टर्स गरेकी छन्। यसपटक हामीले उनीसँग अन्तरङ्ग कुराकानी गरेका छौं।
अमेरिका आएको कति भयो?
यता आएको २१ वर्ष भयो।
नेपालमा के गर्नुहुन्थ्यो?
इन्जिनियरिङ पढाइ सकेपछि दुई वर्ष कम्प्युटर प्रोग्रामरका रुपमा काम गरें।
अमेरिकामा के गर्दै हुनुहुन्छ?
‘हियरिङ एड कम्पनी’ मा मास्टर डाटा स्पेसियलिस्टका रुपमा काम गरिरहेकी छु।
अमेरिका आउन के कुराले प्रेरित गर्यो?
श्रीमान् यतै बस्नुहुन्थ्यो। बिहे भएपछि यतै आइएको हो।
विदेश आउने निर्णय गरेर ठिक गरिएछ कि बेठिक?
आफ्नो देश छाडेर आउन कसलाई रमाइलो लाग्छ र! जे जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो। सेवा सुविधाहरु हेर्दा यता आएर ठिक गरेको जस्तो लाग्छ। तर परिवार, इस्टमित्र, सामाजिक माहोल आफ्नै ठाउँको राम्रो हुन्छ। यस्तो सोच्दा चाहिँ अर्काको देशमा दुःख गर्नुभन्दा आफ्न देशमा दुःख गरेर देशका लागि पनि केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।
अमेरिका त धेरै प्रभावित भएको थियो, कोभिड महामारीमा कस्तो अनुभव रह्यो?
महामारी फैलिएपछि बाहिर उति निस्किएन। घरैबाट काम गर्ने व्यवस्था थियो। धेरैले यसै गरे। त्यसबेला नेपालबाट कसैको फोन आयो कि.. कोभिडले कसैलाई केही पो भयो कि भनेर डर लाग्थ्यो। काकालाई कोभिड भएर अस्पतालमा राखिएको थियो। त्यसबेला धेरै चिन्ता लागेको थियो। धेरै अप्ठ्याराहरु भए पनि कोभिडको बेलामा एकप्रकारले आनन्दका दिन पनि थिए। बेग्लै प्रकारको समय अनुभव गर्न पाइयो। घरैमा बढी समय बस्नुपर्दा नयाँ नयाँ खानेकुराहरु बनाउने अनुभव पनि भयो।
अमेरिका नै सधैं बसाइ हुन्छ कि फर्कने योजना बनाउनुभएको छ?
फर्कन त एकदम मन छ। अहिले छोराछोरीको शिक्षादीक्षाले गर्दा मन भए पनि सजिलै फर्कन सकिने अवस्था पनि छैन। छोराछोरीले कलेजको पढाइ सकेपछि भने नेपालमा गएर समाजसेवाको क्षेत्रमा केही गर्ने र बस्ने योजना मनमा छ।
भरखरै आएका वा आउन चाहनेले अमेरिकामा कसरी सफल बन्न सक्छन्?
हामी २० वर्षअघि आउँदा र अहिले आउनुमा निकै फरक छ। अहिले आउनेले सामाजिक सञ्जार र मुभीहरुबाट निकै कुराको जानकारी पाइसकेका हुन्छन्। त्यसले सजिलो बनाउँछ। सफलता हासिल गर्नका लागि कडा मेहनत त गर्नै पर्छ। हाम्रो देशले उन्नति गर्न नसकेको कारण नै अनुशासन राम्रो नभएर हो। त्यसैले अनुशासनमा बसेर काम गर्ने अनि विदेशमा आएपछि आफ्नो नेपालीपन चाहिँ अलि छाड्नै पर्छ जस्तो लाग्छ। कतिपय कुरामा यहाँको चलनसँग घुलमिल हुन सक्नुपर्छ।
नेपाल कत्तिको सम्झना हुन्छ?
बिर्सेको भए पो सम्झना आउनु भनेजस्तो। बिहान उठेदेखि नसुतेसम्म दिल दिमागमा नेपाल र त्यताको सेरोफेरो नै हुन्छ।
नेपाल राम्रो कि अमेरिका?
राम्रो त दुबै देश हो। दुबै ठाउँको आफ्नै सौन्दर्य छ। यता विकास र सुविधाका कुराहरु धेरै राम्रा छन्। यति हुँदाहुँदै पनि आफ्नो मातृभूमि नै राम्रो लाग्छ नि!
नेपाल सम्झँदा बढी के मिस हुन्छ?
ड्याडी, ममी, आफन्तहरु, साथीभाइ, खानेकुरा मिस हुन्छ। सबैभन्दा बढी मिस हुने बाटोमा हिंड्दा आत्मियपना, घरबाट निस्केदेखि गन्तव्य पुग्दासम्म कति आफन्त, साथीभाइ भेटिन्छन्। कति रमाइलो हुन्छ। गफ गर्दै यात्रा गर्दाको रमाइलै बेग्लै। यी चिजहरु अमेरिकामा अनुभव गर्न पाइँदैन। यहाँ त छिमेकीलाई पनि हत्तपत्त चिनिंदैन। नेपाल गएका बेला मसँग धेरै मानिसहरु बोलेको, हालखबर सोधेको देखेर मेरा छोराछोरीहरु ‘ममी हजुर त कस्तो फेमस, सबैले चिन्दारहेछन्’ भनेर छक्क पर्छन्।
धेरै सम्झना आएका बेला नेपाल गइहालौं जस्तो लाग्छ?
अरु बेलाभन्दा बढी चाडवाडहरुमा निकै नै सम्झना हुन्छ। विदेशमा रहँदा यो सबैलाई लाग्छ। कहिलेकाहिँ झिटीझ्याम्टा कसेर आजै हिंडिजाउँ जस्तो हुन्छ।
आफन्तहरुसित सम्पर्क कत्तिको हुन्छ?
अहिले त इन्टरनेटले गर्दा धेरै सहज छ। सामाजिक सञ्जालहरुले गर्दा भौतिक हिसाबले टाढा भए पनि नजिकै भएको जस्तै अनुभव हुन्छ। स्कुल छाडेपछिका साथीरुसँग पनि कहिलेकाहिँ सम्पर्क हुन्छ। कुराकानी हुन्छ। धेरै रमाइलो हुन्छ यसरी कुराकानी गर्दा। पारिवारिक सदस्यहरुसँग बेग्लै कुराकानी गर्ने च्याट ग्रुप छ, त्यसमा सबैको हालखबर आदानप्रदान भइरहन्छ।
भान्सामा बढी के पाक्छ? नेपाली खाना कत्तिको याद आउँछ?
हाम्रो भान्सामा सबैखाले परिकार पाक्छ। नेपाली, इण्डियन, चाइनिज, मेक्सिकन, थाइ सबै प्रकारका खाना बनाउने गरेका छौं। तर सातामा तीन चार दिन दाल भात खाइएन भने के के नपुगेको जस्तो हुन्छ। न्यास्रो जस्तो हुन्छ। नेपाली खानेकुरा बनाएर खान्छौं तर यता उताको जस्तो स्वाद चाहिँ आउँदैन। ट्वाक्क टुक्क पाराको नेपाली मौलिक स्वाद जति गरे पनि यता हुँदैन। त्यस्ता खानाको एकदमै याद आउँछ।
एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन? अरु नेपाली संघसंस्थामा?
पहिले इन्टरनेसनल नेप्जिल लिटरेसी सोसाइटी अन्तर्गतको फ्लोरिडा च्याप्टरले चलाएको वेस्ट पाल्म बिच पाठशालामा संयोजकका रुपमा आठ वर्ष काम गरेकी थिएँ। अहिलेचाहिँ नेप्लिज एसोसिएसन अफ फ्लोरिडाको कोषाध्यक्षका रुपमा काम गरिरहेकी छु।
अमेरिकामा रहेका नेपाली संघ संस्थाले के काम गर्छन्?
नेपाल र नेपालीका लागि केही गर्ने हो भने एकदम राम्रो हो संस्था सञ्चालन गर्नु। तर संस्थाको नाममा लडाईं झगडा गरेको देख्दा चाहिँ चित्त दुखेर आउँछ। निस्वार्थ रुपमा नेपालीको भलाइका लागि काम गरे राम्रो हो।
चाडपर्वमा सामूहिक सहभागिता हुन्छ?
चाडपर्वहरु एकदमै मन पर्छन्। त्यसो भएकाले पर्वका बेला आयोजना हुने कार्यक्रम र जमघटहरुमा सहभागी हुने गरेका छौं। कार्यक्रम आयोजना गर्न प्रोत्साहित र सहयोग गर्ने गरेका छौं। नेपाली एसोसिएसनले नेपाली नयाँ वर्ष र दसैँमा फ्लोरिडाका सबैजसोलाई सहभागी गराएर कार्यक्रम आयोजना गर्ने गरेको छ। दुई वर्षचाहिँ कोभिडका कारण हुन सकेन। अब सहज अवस्था आउँदै गर्दा फेरि जमघट होला भन्ने आशा छ।
घरमा धेरै नेपाली कि अँग्रेजीमा कुरा हुन्छ?
दुबै भाषामा हुन्छ। छोराछोरीले राम्ररी नेपालीमा जवाफ दिन नसके पनि कुरा भने सबै बुझ्छन्। नेपाली स्कुलमा हुँदा छोराछोरीलाई नेपाली लेखपढ पनि सिकाएकाले उनीहरुलाई नेपालीको ज्ञान केही छ।
नेपाली समाचारप्रति कत्तिको चासो लाग्छ? कसरी अपडेट हुनुहुन्छ?
चासो हुन्छ नि। अहिले त झन् नेपालमा स्थानीय तहको निर्वाचन भएर परिणामहरु आइरहेका छन्। यतिबेला झन् बढी चासो छ। अरु बेलाचाहिँ विकास नभएको, अनियमितता, विकृति जस्ता समाचारहरु सुन्दा पढ्दा दिक्क हुन्छ।
घुमफिरमा कत्तिको रुचि छ? नेपालका कुन कुन ठाउँ घुम्न मन छ?
२०२१ नोभेम्बरमा मुक्तिनाथ दर्शन गर्ने सौभाग्य मिलेको थियो। अब मौका मिल्यो भने नेपालका अरु विभिन्न ठाउँहरु घुम्न जाने रहर छ।
फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नुहुन्छ?
पढ्न एकदम मनपर्छ। एउटा बुक क्लबको सदस्य छु। सबै किसिमका पुस्तकहरु पढिन्छ। नेपाली पुस्तकहरु फाट्टफुट्ट पढ्ने गरेकी छु। यसपालि नेपालबाट आउँदा १०–१५ वटा नेपाली पुस्तक लिएर आएकी छु।
कस्ता गीत सुन्नुहुन्छ? मनपर्ने नेपाली गीत कुन हुन्?
मलाई पुराना नेपाली र हिन्दी गीतहरु असाध्यै मन पर्छन्। खासगरी नारायण गोपाल र तारादेवीका गीत मन पर्छ। अहिलेका नयाँ नेपाली गीत पनि राम्रा छन्।
पछिल्लो पटक हेरेको नेपाली फिल्म हुन हो?
नेपाली फिल्म हेर्न नपाएको धेरै नै भयो। पछिल्लो पटक कहिले कुन हेरियो भन्ने बिर्सिसकिएछ।
घरमा नानीबाबुले नेपालीमा लेखपढ गर्छन्?
नेपाली स्कुलमा हुँदा छोराछोरीलाई नेपाली लेख पढ सिकाएका थियौं। सामान्य खाले नेपाली पुस्तक पढ्न सक्छन्।
उनीहरु नेपालीपनबारे कत्तिको जानकार छन्?
सकेसम्म बढी नेपाली संस्कार र संस्कृति जस्ता कुराहरुबारे जानकारी दिने गरेका छौं। धेरै रुचि राख्छन्। नेपाल जाने भनेपछि हुरुक्कै हुन्छन्।
अमेरिका बस्दा नेपालको अनि नेपाल जाँदा अमेरिकाको के मिस हुन्छ?
अमेरिका बस्दा परिवार, आफन्त, चाडवाडको बेलाको रमझम, नेपाली खाना मिस हुन्छ। नेपाल गएका बेला अमेरिकाको बाटोघाटो अनि प्रदूषणरहित वातावरण मिस हुन्छ।
नेपालबारे अमेरिकीहरु कत्तिको जानकार पाउनुभएको छ?
हामी बसेको ठाउँमा खासै त्यति नेपालबारे जानकारी छैन। सगरमाथा भनेपछि चाहिँ ‘ओ… यु आर फ्रम द कन्ट्री अफ माउन्ट एभरेस्ट? ह्याभ यु क्लाइम्बड एभरेस्ट? भनेर सोध्छन्।
(एएमजी टाइम्स/नेपालटच सहकार्य)