विराटनगर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन अब २ दिन बाँकी छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् ।

तर मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर नक्कली मतपत्र र स्वस्तिक छाप भित्राउने क्रम बढेको पाइएको छ । निर्वाचनलाई प्रभावित पार्ने त्यस्ता वस्तु कहाँबाट आइरहेका छन् भन्ने यकिन हुन सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले शुक्रबार मात्रै वीरगन्ज महानगरपालिका–१६ का ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ वर्षीय अमिर राउत कुर्मीलाई पक्राउ गरेको छ । नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगन्ज आउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

शंकास्पद कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १० हजार थान नक्कली मतपत्र, २ सय ५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र २ लाख ७२ हजार नगद बरामद भएको थियो । करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरु कुन निर्वाचन क्षेत्रका लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने यकिन भइरहेको छैन ।

यसैबीच गत बुधबार पनि प्रहरीले १५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिकलाई पर्साको जगरनाथपुर गाउँपालिका–२ बाट पक्राउ गरेको थियो । भारत पश्चिम चम्पारनका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट नक्कली मतपत्र नेपालतिर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मतपत्र र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने भारतदेखि नक्कली मतपत्र छापेर ल्याइएको देखिन्छ । निर्वाचनलाई लक्षित गर्दै बिहीबार रातिदेखि दुई देशीय सीमानाका बन्द गरिएको छ । निर्वाचनलाई प्रभावित पार्न खोज्नेहरुले त्यसअघि नै भारतबाट नेपालतिर नक्कली मतपत्र ‘सप्लाई’ गरिसकेको अनुमान छ ।

नेपाल प्रहरीले सबै मतदानस्थल र केन्द्रमा निगरानी बढाएको छ । नक्कली मतपत्रका कारण निर्वाचन प्रभावित हुनसक्ने भन्दै त्यस्तो कुनै सूचना आएमा तत्काल जानकारी दिन पनि प्रहरीले सबैमा अनुरोध छ ।

14
Shares
२ मंसिर २०७९, शुक्रबार १४:०२