विराटनगर । विराटनगरको क्षयरोग उपचार केन्द्रबाट भागेका १ जना कैदीलाई झापाको झापा गाउँपालिका–५ शरणामतिबाट बिहीबार साँझ पक्राउ गरिएको छ ।

उपचारका लागि विराटनगर महानगरपालिका–७ मा रहेको क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएका झापा–५ का २८ वर्षीय राजकुमार हेमरन गत असोज १५ गते फरार बनेका थिए । क्षयरोग उपचार केन्द्रबाट फरार बनेको डेढ महिनापछि हेमरन पक्राउ परेका हुन् ।

गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा साँझ ५ः२० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा अदालतले हेमरनलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि विराटनगरस्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २०७५ सालमा दोषी ठहर गर्दै कैदको फैसला सुनाएको थियो । हेमरन क्षयरोगका बिरामी थिए ।

लागुऔषध मुद्दा विचाराधीन रहेका झापा गाउँपालिका–३ का २८ वर्षीय मञ्जिल गुरुङ पनि हेमरनसँगै भागेका थिए । लागूऔषध मुद्दामा अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेका गुरुङलाई उपचारका लागि हेमरनसँगै क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

सल्लाह गरेर एकैपटक फरार बनेकोमा हेमरन मात्रै पक्राउ परेका हुन् । अझैसम्म फरार रहेका गुरुङविरुद्धको मुद्दाको फैसला भने हुन बाँकी छ । प्रहरीले गुरुङको खोजी तीव्र पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु