निर्वाचनमा राष्ट्रको र नेपाली जनताको भविष्य मतपत्रको माध्यमबाट निर्धारण गर्न गइरहेको भन्दै कोइरालाले समस्त मतदातसमक्ष आगमी सरकार असर शासनप्रति जिम्मेवार होस् भनी हेक्का राख्नुपर्ने उल्लेख गरेका छन् ।
डा. कोइरालाले जारी गरेको अपिलको पूर्ण पाठआदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा छौं । नेपाली जनतालाई अधिकार सम्पन्न र समृद्धिको यात्रामा अगाडि बढाउने सन्दर्भमा मङ्सिर ४ गतेको निर्वाचन ऐतिहासिक हुन गइरहेको छ ।हामी सार्वभौम नेपाली नागरिक भावी निर्वाचनको माध्यमबाट यो राष्ट्रको र नेपाली जनताको भविष्य मतपत्रको माध्यमबाट निर्धारण गर्न गइरहेका छौं । निर्वाचनको माध्यमबाट बन्ने सरकार लोकतान्त्रिक, जनताप्रति उत्तरदायी, भ्रष्टाचारमुक्त समाज निर्माण, पारदर्शी र असल शासनप्रति जिम्मेवार होस् भनी हामी सबैले हेक्का राख्नु परेको छ ।
हाम्रो सामान्य त्रुटिले पनि हाम्रा भावी सन्ततिको भविष्य मात्र होइन यो राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा नै आँच आउन सक्छ । तसर्थ आफ्नो मतपत्रको विवेकपूर्ण प्रयोगको अपेक्षा म सम्पूर्ण मतदाताबाट गर्दछु ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले लोकतान्त्रिक समाजवादको मर्मलाई आत्मसात गरेको छ । कांग्रेस नेतृत्वको गठबन्धन यो पार्टीका संस्थापक अग्रजहरूले परिकल्पना गरेको समृद्ध र समुन्नत नेपाल निर्माणमा जुटेको छ । सामाजिक न्यायसहितको आर्थिक समुन्नति दिलाउन कटिबद्ध छ ।
मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा एकातिर नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन छ भने अर्कोतिर नेकपा एमालेको नेतृत्वमा भएको गठबन्धनले लोकतन्त्रविरोधी कित्तालाई प्रतिनिधित्व गर्दछ । मतपत्रमा स्वस्तिक चिह्न लगाउँदा हामीले हेक्का राख्नुपर्ने कुरा यही हो । हामी लोकतन्त्र विरोधी पद्धति छान्छौं कि लोकतान्त्रिक समाजवादको राष्ट्रिय भाव धारा बगाउने कांग्रेस नेतृत्वको गठबन्धन ?
विगतमा प्रतिनिधिसभा विघटन र संविधानलाई असफल बनाउने षडयन्त्रलाई फेरि पुनरावृत्ति हुन नदिन कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई विजयी बनाउन सम्पूर्ण मतदाताहरू समक्ष कांग्रेसको रुख चुनाव चिह्न गठबन्धनका अन्य पार्टीको चुनाव चिह्नहरुमा भोट दिएर अत्यधिक मतले जिताउन म अपिल गर्दछु ।
लोकतन्त्र, संविधानको रक्षा र समृद्ध र समुन्नत नेपाल निर्माण गर्न नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन हामी सबैबाट इमान्दार प्रयत्न हुनेछ भनी म देशभरका सबै मतदाताहरुसँग हार्दिक अनुरोध पनि गर्दछु ।
जय नेपाल ।
डा. शेखर कोइराला
प्रतिनिधि सभा सदस्य उम्मेदवार मोरङ क्षेत्र नं. ६
१ मंसिर २०७९
