झापा । एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् । झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए ।

गठबन्धनमा नगएर आफूतिर आएकाले राप्रपाका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ छ । उनले गठबन्धन सरकारको आलोचना गरे । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे । ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे । उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताए ।

उनले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए । खरेलले नीति निर्माण र सरकार चलाउन सक्छन् भनेर झापा पठाएको ओलीको भनाइ छ । यसअघि खरेल झापा २ बाट निर्वाचन लडेर विजयी भएका थिए ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा एमाले–राप्रपा गठबन्धन छ । प्रतिनिधिसभाका लागि पाँचमध्ये चार क्षेत्रबाट एमालेले उम्मेदवारी दिँदा झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार रहेका छन् । १० प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा एमालेका आठ र राप्रपाका दुई साझा उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु