काठमाडौं । युएईलाई तीन विकेटले पाखा लगाउँदै घरेलु टोली नेपालले तीन खेलको एकदिवसिय सिरिजमा १–१ को बराबरी गरेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा टस जित्दै युएईले ब्याटिङ रोजेको थियो । ४३.२ ओभरमा सबै विकेट गुमाउनु अघि युएईले एक सय ९१ रनको मध्यम योगफल खडा गर्याे । युएईका लागि ओपनर मोहम्मद वसिमले सर्वाधिक रन बनाए । ४६ बलको सामना गरेका उनले तीन चौका र चार छक्काको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले । वसिमबाहेक अलिसान सराफुले ३५ र वृत्य अरिबन्दले युएईका लागि २९ रनको योगदान दिए ।
युएईलाई मध्यम योगफलमा रोक्न नेपालका सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यसबाहेक नेपालका अन्य चार बलरले एक–एक विकेट लिँदै युएईको इनिङलाई धराप पारे ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात गतिलो हुन सकेन । शुन्य रनमा ओपनर अर्जुन साउदलाई गुमाएको नेपाल आसिफ शेखलाई पनि सस्तैमा गुमाउनु परे पछि झनै दबाबमा पर्याे । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले नेपालको इनिङलाई सम्हाल्ने प्रयास गरे पनि पाैडेल ६ रनमै पेभिलियन फर्किए पछि नेपालमाथि दबाब बढ्दै गयाे ।
तर त्यसपछि क्रिजमा आएका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, गुल्शन झाले नेपालको इनिङलाई उकासे । नेपालका लागि सर्वाधिक ३७ रन बनाएका गुल्शनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।
मल्ल, भुर्तेल, ऐरी, झाबाहेक आरिफ शेख र सोमपाल कामीको भूमिका पनि नेपालको जितका लागि महत्वपूर्ण रह्यो । ५८ बल खेल्दै नटआउट रहेका शेखले ३३ र कामीले १६ बलमा १६ रन बनाउँदै नेपालको जित निश्चित गरे ।
युएईका लागि रोहन मुस्तफाले तीन, हजर्त बिलाल र बसिल अहमेदले समान एक–एक विकेट लिए पनि त्यो नेपाललाई रोक्न अपर्याप्त रह्यो ।
आजको खेलमा जित निकाले सँगै नेपालले सिरिज बराबरी गरेको छ । सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । सिरिजको अन्तिम तथा निर्णायक खेल शुक्रबार बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।