विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अबको चुनावबाट संसदमा माओवादीको उपस्थिति कमजोर हुने ठोकुवा गरेका हुन् । त्यसपछि गठबन्धनको आयुसमेत सकिने दाबी उनको छ । खरानीको डल्लाजस्तै गठबन्धन मंसिर ४ पछि फुट्ने उनको जिकिर छ ।
अहिलेको गठबन्धन मंसिर ४ बाट उता जानै नसक्ने र माओवादी त ५/७ सिटमै सीमित हुने दाबी ओलीले गरेका छन् । निर्वाचनपछि बहुमत ल्याएर एमालेले सरकार बनाउने उनको भनाइ छ ।शासकीय स्वरुप परिवर्तनको मागसहित माओवादी सडकमा जान्छ होला नि भनेर सञ्चारकर्मीले सोधको प्रश्नमा सडकमा जान सम्भव नहुने उनले बताए । अबको चुनावबाट ५/७ सिटमा खुम्चिएपछि माओवादीको अस्तित्व नै सकिने र सडकमा जान सक्ने अवस्थामै नहुने उनको जिकिर छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भने, ‘हिजो छोरी बिकाउन १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको हो ।’ गठबन्धन २० वर्ष टिक्छ भनेर कसैका श्रीमती, छोरी र ज्वाईंलाई जिताउन नचाहिने हिसाबले बाँडेको प्रलोभन राष्ट्रिय राजनीतिको विषय नबन्ने उनको भनाइ छ ।शासकीय स्वरुप परिवर्तन गर्ने कुरा सामान्य विषय भएको उनको भनाइ छ । नेपालको प्रणाली कुनैपनि दलले बहुमत नल्याउने र अस्थिरता भइरहने खालको देखिएको ओलीले बताए । उनले अहिलेको प्रणालीमा कुनैपनि दलले बहुमत नल्याउँदा ‘हङ पार्लियामेन्ट’ हुने, सधैँ अस्थिरता निम्त्याइरहने र सधैँ स्वार्थमा केन्द्रित हुने खालको प्रवृत्तिहरु देखिएको उनले बताए ।
‘हङ पार्लियामेन्ट’ अन्त्यका लागि स्वार्थ केन्द्रित नभएर उदेश्य केन्द्रित हुनुपर्नेमा ओलीको जोड छ । तर शासकीय स्वरुप परिवर्तन सबैको सल्लाहले गर्न सकिने उनको भनाइ छ । ‘डेमोक्रोसिका विभिन्न रूप छन् । त्यसमा शासकीय स्वरूप परिवर्तन गर्ने विषय धेरै ठूलो कुरा हैन,’ उनले भने, ‘शासकीय स्वरूप परिवर्तन गर्ने–नगर्ने भन्ने कुरा विकास गर्ने या नगर्ने भन्ने कुरा हैन । अहिलेकै शासकीय स्वरूपबाट पनि विकास सम्भव छ ।’
विकासमा ध्यान दिए अहिलेको यही शासकीय स्वरूप र प्रणाली उत्तम हुनसक्ने ओलीले बताए । अहिलेको शासकीय स्वरूपको जननी बेलायत भएपनि नेपालमा फरक रूपमा अवलम्बन गरिएको उनको भनाइ छ ।