काठमाडौं । युक्रेनलाई लक्षित गरी प्रहार भएको क्षेप्यास्त्र पोल्याण्डमा खसेको छ। घटनामा दुईजना मारिएका छन्। यो घटनापछि जी–७ देशका प्रमुखहरुको आपतकालीन बैठक बसेको छ।

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० बैठकका क्रममा जी–७ देशका शीर्ष नेताहरु छलफलमा जुटेका बीबीसीले जनाएको छ। अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान र स्पेनका नेताहरूको उपस्थिति रहेको बैठकको तस्बिर सार्वजनिक भएको छ।

उनीहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छलफल गरेको जनाइएको छ। उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी छन्।

पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो। यो मिसाइल रुसबाट प्रहार भएको पुष्टि भएमा यसले द्वन्द्व थप बढाउने जोखिम रहने विश्लेषण गरिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेका छन् । रुसले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन। पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानबिन गरिरहेको बताएको बीबीसीले जनाएको छ। जी–२० सम्मेलन बुधबार सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु