गगन नुनिया
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीले राजनीतिप्रति आमजनतामा कुण्ठा र वितृष्णा बढेको बताएका छन् ।

राजनीतिक दलको दम्भ तोड्न आफू स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ । ‘राजनीति आफैँमा खराब हैन । त्यहाँबाट सही निर्णय हुनुपर्छ भन्ने आमबुझाइ र मान्यता छ । तर खराब पात्रहरुका हातमा राजनीति पुग्यो,’ उनले भने, ‘त्यही भएकाले मुलुक समृद्धिको बाटोमा जान सकेन । जनतामा आक्रोश बढ्यो । गलत व्यक्तिहरुले राजनीतिलाई आफ्नो मुठीमा राखेका छन् ।’

विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेग्मीले प्रदेशले ५ वर्षमा केही गर्न नसकेको र मुख्यमन्त्री को बन्ने भन्ने होडबाजी मात्रै चलेको पनि बताए । नेपाली कांग्रेस प्रदेश १ का सदस्य रहेका उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता नलिएपछि पार्टीको कारबाहीमा परेका उनले आफूले चुनाव जितेमा जनतालाई सेवा प्रवाहमा सहजीकरण गरिदिने प्रतिबद्धता पनि जनाए । ‘स्वतन्त्र रूपमा जितेर राजनीतिक दलले फैलाउँदै आएको भ्रम तोड्ने मेरो योजना छ,’ उनले भने, ‘दलभित्रका खराब पात्रका कारण नैतिकता बोकेका, सामाजिक मूल्य र मान्यतामा हिँड्ने व्यक्तिहरु ओझेलमा पर्दै गएका छन् ।’

आफू अब कांग्रेसमा फर्किने सम्भावना सकिएको रेग्मी बताउँछन् । ‘जनताले धेरै ठूलो अपेक्षा राखेका छैनन् । दैनिक जीवनमा आइपर्ने समस्याको समाधान खोजेका छन्,’ उनले भने, ‘तर राजनीतिलाई व्यापार बनाइयो । लगानी गर र प्रतिफल लेउ भन्ने सोचको विकास हुँदा जनताका समस्या समाधान हुन सकेनन् ।’

रेग्मीका अनुसार प्रदेशले अर्बौ खर्च गरे पनि केही काम नगर्दा जनताले प्रदेश चाहिँदैन भन्न थालेका छन् । रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने वातावरण राज्यले नबनाएको उनको आरोप छ ।

‘तपाईंहरुले पटकपटक दलका उम्मेदवारलाई जिताउनु भयो । एकपटक स्वतन्त्रलाई जिताएर हेर्नुस्,’ मतदातालाई आग्रह गर्दै रेग्मीले भने, ‘अर्को पटकदेखि राम्रा र असल मान्छेलाई उम्मेदवार बनाउने दबाब दलहरुलाई पर्छ । नत्र भोट माग्न आउँदा तपाईंलाई १ पटक ढोग्छन् र ५ वर्षसम्म आफूलाई ढोगाइरहन्छन् ।’ दलको दम्भ र अहंकार तोड्न पनि स्वतन्त्र उम्मेदवारले जित्न आवश्यक रहेको उनको तर्क छ ।

‘राजनीतिमा राम्रा मान्छे आउनुपर्छ । माफियातन्त्र हाबी हुन हुँदैन । समाजलाई अघि बढाउन स्वच्छ राजनीति गर्नुपर्छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर जनताले आवाज उठाउन थाले । यो सबै राजनीतिप्रतिकै वितृष्णा हो । राजनीतिमा बढेको मनपरितन्त्र चिर्न आवश्यक छ ।’ मुलुकमा रोजगारी नहुँदा युवाहरु खाडी मुलुक जान बाध्य भएको रेग्मीको भनाइ छ ।

विगतमा कर्मचारी हुँदा विराटनगरका लागि आफूले गरेका कामलाई हेरेर जनताले यसपटकको चुनावमा सहयोग गर्ने उनको अपेक्षा छ । विराटनगरका पूर्वकार्यकारी प्रमुख रेग्मीले विगतमा आफूले गरेका कामलाई विश्वास गरेर जनताले चुनाव जिताउने बताए । जनताका समस्या सुन्न र बुझ्न मतदाता भेटघाट तथा घरदैलोलाई निरन्तरता दिएको उनको भनाइ छ ।

‘चुनवाका बेला आएर ढोग्नेले ५ वर्षसम्म ढोगाउँछन् । त्यही भएर विचार गरेर मतदान गर्नुपर्छ,’ उनले भने । विराटनगर महानगरमा कार्यरत रहँदा सडक, बसपार्क र तारिणीप्रसाद सञ्चार ग्राम निर्माणको काममा स्रोत व्यवस्थापन गर्न आफू सफल भएको तथा सबै कामको थालनी गरेको रेग्मीको प्रष्टोक्ति छ । उनले आफ्नो उमेदवारीमा कुनै शंका नगर्न सबैमा आग्रह गरेका छन् ।

विगतमा गरेका कामको मूल्यांकन गर्दै जनताले सहयोग गर्ने भएकाले मंसिर ४ गतेको नतिजा आफ्नो पक्षमा आउनेमा उनी विश्वस्त छन् । स्वतन्त्र उम्मेदवार रेग्मीको चुनाव चिन्ह लालटिन हो ।

दबाब र प्रभावसँग कुनै मतलव नभएको बताउने उनी कांग्रेसको प्रदेश सदस्य हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् । विराटनगर महानगरको मेयर पनि उनको नाम सिफारिस भएको थियो । प्रदेशसभा सदस्य पदको उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।

तर कांग्रेसका तर्फबाट आधिकारिक उम्मेदवार बन्न पाएनन् । नेपाली कांग्रेसले विवादित छविका केदार कार्कीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ । कार्की विराटनगर महानगरपालिका–१२ को सुकुम्बासी बस्ती निर्माणका लागि जग्गा खरिद घोटालामा मुछिएका छन् ।

उनी अरु विभिन्न विवादमा पनि पर्दै आएका छन् । एमालेले यही क्षेत्रबाट पर्शुराम बस्नेत (कृष्ण)लाई उम्मेदवार बनाएको छ । (प्रशिक्षार्थी)

217
Shares
२९ कार्तिक २०७९, मंगलवार १६:२१